जनकपुरधाम- जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले रक्तरञ्जित संविधानमाथि आक्रमण गरेको आरोप लगाएका छन्।
जनकपुर उद्योग वाणिज्य संघको ५४औँ साधारणसभाको उद्घाटन सत्रमा बोल्दै महतोले भने, ‘वर्तमान संविधान एक त मधेशी जनताको रगतबाट सिञ्चित नै थियो त्यसमाथि प्रधानमन्त्री ओलीले सो संविधानमाथि पनि अतिक्रमण गरे।’
तत्कालीन एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी मिलेर मधेशी जनताको बलि दिएर तयार पारेको संविधानमाथि समेत आक्रमण गर्न प्रधानमन्त्री ओली पछाडि नपरेको महतोले आरोप लगाए।
उनले भने ‘रक्तरञ्जित संविधानलााई टेकेर बनेको जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी खतरामा रहेको देखेर अकाल मृत्युको घोषणा गरेका छन्।’
प्रधानमन्त्री ओलीले देशमा धेरै विकास भएको भनेर दिँदै आएको अभिव्यक्तितर्फ इंगित गर्दै महतोले भने, ‘प्रधानमन्त्रीलाई जनताको अधिकार खोस्न, प्रतिगमन गर्नबाट फुर्सद भए पो देशमा विकास निर्माणका कार्यहरु हुन्छन्।’ उनले भने ‘ओलीजी रेल ल्याएको दाबी गर्दैछन्, खोइ गुडेको, जनताको अधिकार खोस्नबाट फुर्सद भएपो रेल गुडाउन तर्फ ध्यान जान्छ।’
अर्को प्रसंगमा नेता महतोले प्रदेश २ को स्थायी राजधानी बन्ने पहिलो अधिकार जनकपुरधामसँग रहेको बताए। उनले जनकपुरधाम प्रदेश २ को मात्र नभई देशकै धार्मिक तथा सांस्कृतिक नगरी रहेकोले राजधानी बन्ने पूर्ण सम्भावना जनकपुरधामसँग रहेको बताए।
उनले भने ‘राजधानीको निक्र्यौल प्रदेशसभाले गर्नेछ, त्यसैले प्रदेशसभालाई आग्रह गर्न चाहन्छु छिटोभन्दा छिटो जनकपुरधामलाई प्रदेश २ को स्थायी राजधानी बनाउन पहल होस्।’ उनले यसका लागि जनकपुरधामको उद्योग कलकारखाना तथा भौतिक पूर्वाधारको विकासतर्फ ध्यान दिनु आवश्यक रहेको बताए।