काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिवार संसद् विघटनविरुद्ध आयोजित कार्यक्रमलाई सम्बोधन गर्न बुढानिलकण्ठमा उपस्थित थिए।
सह महामन्त्री डा. प्रकाश शरण महत प्रदेश सांसदलगायतका नेताहरुसमेत कार्यक्रममा उपस्थित थिए।
सह-महामन्त्री महतले बोलेपछि कार्यक्रमका प्रमुख अतिथि देउवाले सभालाई सम्बोधन गर्न सुरु गरे।
सम्बोधनको सुरुमै देउवाले देश गम्भीर मोडमा रहेको बताए। संसद् विघटनको कदम असंवैधानिक भएको बताएका देउवाले अदालतमा मुद्दा विचाराधिन रहेकाले दबाब दिन नहुने बताए।
उनले यदि संसद् विघटन सदर भयो भने कांग्रेस निर्वाचनका लागि तयार हुनुपर्ने बताइरहेका थिए।
‘चुनाव भयो भने चुनावका लागि तयार हुनुपर्छ। चुनाव लड्नका लागि जनता ठूलो हो, सर्वोच्च अदालतभन्दा ठूलो अदालत जनता हो। त्यसैले जनताबाट भाग्न हुँदैन,’ देउवाले भनिरहेका थिए।
यत्तिकैमा कार्यक्रममा उपस्थित एक महिलाले ठूलो आवाजमा जनतामा गए पनि जितिँदैन भनिन्। त्यसपछि देउवा र कार्यक्रममा उपस्थितहरुबीच सामान्य सवालजवाफ भयो।
देउवा बोलिरहँदा ती महिलाले भनिन्- जनतामा गए पनि जितिँदैन। देशको लागि सोचम्।
देउवाले भने- तपाई पछि बोल्नुस्, सन्नुस् न। त्यसैकारण चैने....
त्यतिकैमा अर्का एक पुरुषसमेत देउवासँग सवालजवाफ गर्न तम्सिन्छन्।
उनी भन्छन्- महाभारतमा भिष्मको रुपमा रहन हुँदैन के !
देउवा- त्यसैले चैने, अहिले....
ती पुरुषले फेरि भन्छन्- नेपाली महाभारतमा भिष्मको रुपमा नरहनुहोला है प्लिज!
देउवाले सोध्छन्- के रे ?
पुरुषले जवाफ फर्काउँछन्- नेपाली महाभारतमा भिष्मको रुपमा नरहनुहोला के।
यत्तिकैमा सह महामन्त्री महतले भन्छन्- चुप लाग्नुस् तपाई।
देउवाले भन्छन्- दोहोरो कुरा गर्ने होइन के, दोहोरो कुरा गर्ने होइन।
देउवा फेरि थप्छन्- त्यसैले चैने...। रक्सी खाए होलान्। दिउँसै रक्सी खाएर आउँछन्...
देउवाले दिँउसै रक्सी आएर आउँछन् भनेपछि कार्यक्रममा हाँसो मच्चिन्छ।
कार्यक्रममा सहभागीले जनतामा आक्रोश बढेको बताउँछन्। देउवाले सम्बोधन अघि बढाउँछन्।