मंगलबार, चैत १०, २०८२

डोटीमा सुरक्षित सुत्केरी गराउने बढे

पछिल्लो समय जिल्लामा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

डोटी– पछिल्लो समय जिल्लामा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ। 

National life

यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तहका सबै स्वास्थ्य संस्थाले बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। 

बर्थिङ सेन्टरमा सुत्केरी हुन आउन थालेपछि जिल्लामा मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ। 

पछिल्ला वर्षमा बर्थिङ सेन्टरमै गएर सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएपछि मातृ तथा शिशु मृत्युदर घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए। उनले भने, ‘बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ, जसले गर्दा आमा र बच्चाको मृत्यु दर निकै घटेको छ।’ 

बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी हुन आउनेको सङ्ख्या महिनैपिच्छे बढ्दै जान थालेको स्वास्थ्य कार्यालय डोटीको तथ्यांकले देखाएको छ। जिल्लामा रहेका कूल ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

Laxmi sunrise bank
kumari

जिल्लाको विकट क्षेत्रमा पर्ने बडिकेदार गाउँपालिकाको घागल तथा बोगटान फुड्सिल गाउँपालिकामा पनि बर्थिङ सेन्टर स्थापना भएसँगै त्यहाँका विभिन्न ग्रामीण महिला पनि अहिले बर्थिङ सेन्टरमै आएर सुत्केरी हुन थालेका छन्। 

यहाँका कतिपय स्वास्थ्य चौकीले पनि सुरक्षित प्रसूति सेवा सञ्चालनमा ल्याएको भए पनि भवन अभावमा प्रसूति गराउन समस्या हुने गरेको बडीकेदार गाउँपालिका १ की बन्दना कलेलले बताइन। उनले भनिन्, ‘गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन भएका छन् तर भवन अभावमा सुत्केरी हुन जाने महिलालाई समस्या हुँदै आएको छ।’

स्वास्थ्य संस्थाले सुरक्षित प्रसूति सेवा सञ्चालन गरेसँगै स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने महिलाको सङ्ख्या डोटीमा ७३ प्रतिशतले वृद्धि भइरहेको भए पनि सरकारी पूर्वाधारको अभावमा सेवा दिन समस्या परेको स्वास्थ्य कार्यालयका प्रमुख मलासीले बताए। उनले भने, ‘सुरक्षित प्रसूति सेवा सुरु भयो, तर केही स्वास्थ्य संस्थामा भवन नहुँदा समस्या देखिएको छ, स्वास्थ्य संस्थामा सबैभन्दा पहिले भवनसहितका पूर्वाधारको विकास हुनु जरुरी देखिन्छ।’ 

यसैगरी जिल्लाका विभिन्न स्थानमा प्रसूति सेवा सञ्चालन भए पनि आदर्श गाउँपालिकाको लामीखालमा भने अहिलेसम्म बर्थिङ सेन्टर स्थापना हुन नसकेको स्थानीयवासी हर्कबहादुर नेपालीले बताए। 

कोभिड १९ का कारण आदर्श गाउँपालिकाको लामिखालमा अहिलेसम्म बर्थिङ सेन्टरको सञ्चालनमा समस्या भएको र केही दिनमा सञ्चालन गरिने स्वास्थ्य प्रमुख मलासीले जानकारी दिए।

प्रकाशित: Jan 09, 2021| 03:06 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्