काठमाडौं– अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भड्केको हिंसामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। यीमध्ये एक महिलाको मृत्यु प्रहरीको गोली लागेर भएको छ। अन्य तीनजनाको मृत्यु ‘मेडिकल इमर्जेन्सी’ का कारण भएको प्रहरीले बताएको छ।
वासिङ्टन प्रहरीले अहिलेसम्म ५२ जनालाई पक्राउ गरिसकेको छ।
यसैबीच, वासिङ्टन डीसीका मेयरले १५ दिनका लागि पब्लिक इमर्जेन्सी घोषणा गरेका छन्। कैयौं मानिसहरुले सहरमा हतियारसहित प्रदर्शन गरेको, तोडफोड गरेको, केमिकल फ्याँकेको, इँटा तथा बोतल प्रहार गरेको भन्दै इमर्जेन्सी लगाइएको हो।
यो इमर्जेन्सी जनवरी २१ अर्थात् नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण नसकिएसम्म जारी रहनेछ।
सहरमा बुधबारसम्मका लागि कर्फ्यु लागू गरिसकिएको छ।