एजेन्सी- अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थक हिंसा र तोडफोडमा उत्रिएपछि राजधानी वासिङटन डीसीमा कर्फ्यु लगाइएको छ। अमेरिकी संसद भवन (क्यापिटल बिल्डिङ) भित्र पसेर ट्रम्प समर्थकले तोडफोड गरेका हुन्।
कर्फ्यु स्थानीय समय अनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार विहानसम्मका लागि लगाइएको छ।
अमेरिकी कंग्रेस (संसद) मा जो बाइडनको विजय पुष्टिका लागि इलेक्टोरल कलेजबारे बहस भइरहेका बेला ट्रम्प समर्थकले भवनभित्र पसेर हिंसा सुरु गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
त्यसअघि निर्वाचन रद्द गर्नुपर्ने माग सहित प्रदर्शनमा उत्रेका ट्रम्प समर्थक र प्रहरीबीच हिंस्रक झडप भएको थियो। अवस्था नियन्त्रणमा लिनका लागि संसद भवनमा नेशनल गार्ड तैनाथ गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
सञ्चारमाध्यमहरुका अनुसार क्यापिटल बिल्डिङमा एउटा दमकलमा विष्फोट भएको छ भने एक जना महिलालाई गोली लागेको छ।
जो बाइडनले भने– यो विद्रोह हो
अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडनले डेलावेयरबाट देशलाई सम्बोधन गर्दै ‘ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतन्त्रलाई अघि बढ्न दिन’ आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘यो कुनै विरोध होइन। यो विद्रोह हो। डोनल्ड ट्रम्प यो सब रोक्नुहोस्। अति भयो।’
ट्रम्पको सन्देश
राष्ट्रपति ट्रम्पले ट्विटरमा एक भिडियो सन्देश जारी गर्दै प्रदर्शनकारीलाई घर फर्कन अपिल गरेका छन्। उनले शान्ति व्यवस्था कायम गर्न र कानुन उल्लंघन नगर्न पनि आह्वान गरेका छन्।
उपराष्ट्रपति माइक पेन्सले पनि प्रदर्शनकारीलाई हिंसा नगर्न अपिल गरेका छन्। उनले क्यापिटलमा भएको आक्रमण सह्य नहुने र दोषिलाई कडा सजाय दिइने बताएका छन्।