सन् २०२० मा दक्षिण कोरियामा पहिलो पटक जनसंख्या घटेको छ।
देशमा मृत्यु हुने मानिसको संख्याभन्दा जन्मिने शिशुको संख्या कम छ। यसबीच दक्षिण कोरियाली सरकारले गरिब क्षेत्रका केही नगर पूरै लुप्त हुन सक्ने चेतावनी दिएको छ।
दक्षिण कोरिया विश्वको बाह्रौं सबैभन्दा ठूलो अर्थव्यवस्था हुनुका साथै औसत आयु सबैभन्दा धेरै र जन्मदर सबैभन्दा कम भएको देश हो।
तर, यो मिश्रण देशको जनसंख्याका लागि समस्या बन्दै छ। दक्षिण कोरियाली गृह मन्त्रालयको तथ्यांकअनुसार ३१ डिसेम्बर, २०२० मा देशको जनसंख्या पाँच करोड १८ लाख २९ हजार २३ थियो, जुन एक वर्षअघिको भन्दा २० हजार ८३८ कम हो।
पछिल्ला केही वर्षदेखि दक्षिण कोरियामा शिशु जन्मदर घटदै गएको छ, तर, पहिलोपटक देशमा मृत्युदरभन्दा जन्मदर कम भएको हो।
सन् २०२० मा दक्षिण कोरियामा कुल दुई लाख ७५ हजार ८१५ शिशु जन्मिए भने देशभर मृत्यु हुने मानिसको संख्या तीन लाख सात हजार ७६४ थियो।
अधिक उमेर भएको जनसंंख्या धेरै भएपछि दक्षिण कोरियामा स्वास्थ्य सेवा र पेन्शनबाट राजस्व खर्चमा दबाब परेको छ भने युवा जनसंख्याको कमीका कारण देशले श्रमिकको ठूलो अभाव व्यहोर्नुपरेको छ। जसको प्रत्यक्ष असर देशको अर्थव्यवस्थामा पर्न थालेको छ।
दक्षिण कोरियाली गृह मन्त्रालयले भनेको छ, ‘आर्थिक अवसरका साथै स्वास्थ्य र शिक्षासम्बन्धी सुविधा पर्याप्त नभएका प्रान्तका नगर नै लुप्त हुने खतरा पैदा भएको छ।’
कल्याण र शिक्षाका क्षेत्रमा सरकारको नीतिमा मूलभूत परिवर्तन जरुरी रहेको मन्त्रालयले जनाएको छ।
विश्वको समृद्ध अर्थव्यवस्था भएको मुलुक हुँदाहुँदै पनि दक्षिण कोरिया अहिले जुन अवस्थामा पुगेकोे छ, त्यसका पछाडि धेरै कारण हुन सक्छन्।
जस्तै– बालबालिकाको स्याहारमा लाग्ने खर्च र चर्को घरभाडा। यसबाहेक दक्षिण कोरियाली प्रतिस्पर्धा अत्यधिक रुचाउँछन्। त्यसकारण राम्रो तलब सुविधाको काम पाउन गाह्रो भइदिन्छ।
कामकाजी महिलाले आफ्नो करिअरका साथै घरको काम र बालबालिका स्याहारको दोहोरो बोझ व्यहोर्नुपर्ने बाध्यताजस्तै छ। त्यसैले पनि महिलाहरु सन्तान जन्माउन इच्छा गर्दैनन्।
जन्मदर बढाउनका लागि सन् २००६ देखि अहिलेसम्म दक्षिण कोरियाले १६६ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ।
देशको जनसंख्या वृद्धिका लागि दक्षिण कोरियाले प्रत्येक नयाँ जन्ममा मातापितालाई २० लाख वान दिने योजनासमेत अघि सारेको छ।
त्यसबाहेक बालबालिकालाई एक वर्षको उमेरसम्म प्रतिमहिना तीन लाख वान दिने र २०२५ देखि यो रकम बढाएर पाँच लाख वान पुर्याउने सरकारको योजना छ। तर पनि सन् २०६७ सम्म देशको जनसंख्या ३.९ करोडमा झर्ने प्रक्षेपण गरिएको छ।
विश्वमा जनसंख्याका हिसाबले दक्षिण कोरिया २७ औं स्थानमा छ र उसका छिमेकी देश चीन र जापानमा भने जनसंंख्या तीव्र गतिमा बढिरहेको छ। एएफपी