काठमाडौं- त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले पठनपाठन नै अवरुद्ध गरेर आन्दोलन चर्काएका छन्। त्रिवि पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले भर्चुअल कक्षा पनि बन्द गरेका छन्।
साउन ९ गतेदेखि तालाबन्दी गर्दै आएका प्राध्यापकहरुले विश्वविद्यालयले सञ्चालन गर्दैै आएको परीक्षामा पनि सहयोग नगरेको विश्वविद्यालय प्रशासनले जनाएको छ।
आंशिक शिक्षकको समस्या समाधान गर्न त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते खुलाएको स्थायी प्राध्यापकको विज्ञापनको परीक्षा नै स्थगित गरेर आंशिक प्राध्यापकलाई बार्ताका लगि बोलाएको भए पनि उनीहरुले पदाधिकारीको कार्यकक्ष र सेवा आयोगमा तालाबन्दी गरेर आफ्नो मागका विषयमा छलफल गर्ने वातावरण नै बन्न नदिएको आरोप विश्वविद्यालय प्रशासनको छ।
विश्वविद्यालयले वार्तामा बोलाए पनि सहमति नभएको त्रिवि रजिष्ट्रार पेशल दाहालले जानकारी दिए। उनले भने, ‘आंशिक प्राध्यापकका मागका विषयमा छलफल भएको छ। कुनै निष्कर्ष निष्किएको छैन, छलफल जारी राखेका छौँ।’
आंशिक प्राध्यापकसँग त्रिविले यसअघि गरेका सहमति कार्यान्वयन गराउन भन्दै कक्षा नै बन्द गरेर आन्दोलन गरेका छन्। उनीहरुले त्रिविका उपकुलपति, रजिस्ट्रार, रेक्टर, सेवा आयोगको कार्यालय, ईन्जिनियरिङ अध्ययन संस्थानलगायत कार्यालयमा तालाबन्दी गरेका हुन्।
२०७४ सालमा विश्वविद्यालयले १ हजार ४२० आंशिक प्राध्यापकलाई करार दरबन्दी कायम गराउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन नभएको भन्दै प्राध्यापकहरुले आन्दोलन गरेका हुन्। विगतका सम्झौताहरु कार्यान्वयन नभएसम्म ताला नखोल्ने संर्घष समितिका संयोजक गोकुल लिम्बुले बताए।
त्रिविले आंशिक प्राध्यापकलाई शोषण गर्दै आएको आरोप उनीहरुको छ। त्रिवि कार्यकारी परिषद्ले २०७४ वैशाखमै दरबन्दी थप्ने निर्णय गरेको भए पनि अर्थले सहमति नदिँदा दरबन्दी थप गर्न सकेको छैन।
त्रिवि र आंशिक प्राध्यापकका बीचमा २०७७ पुस २४ को भएको सम्झौता कार्यान्वयन नभएको भन्दै प्राध्यापकहरु संर्घषरत छन्। विश्वविद्यालयले भने सेवा आयोगबाट लिइएको परीक्षा उत्र्तिण भएका आंशिक शिक्षकलाई ऐनअनुसार व्यवस्थापन गर्दै लाने जनाएको छ।