एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू निर्वाचित हुनका लागि आवश्यक मतको व्यवस्था मिलाउन अधिकारीलाई दबाब दिएको फोन रेकर्डिङ बाहिरिएको छ।
वाशिङटन पोस्टले सार्वजनिक गरेको उक्त कल रेकर्डिङमा ट्रम्पले जर्जिया प्रान्तका प्रमुख निर्वाचन अधिकारी (सेक्रेटरी अफ स्टेट) ब्रेड रेफेनस्पर्जरलाई ‘म ११७८० मत खोजिरहेको छु’ भनेको सुनिन्छ।
उक्त अडियोमा ट्रम्पले रेफेनस्पर्जरलाई राज्यको परिणाम पुनः समीक्षा गरेर आफूलाई जिताउन दबाब दिएका छन्।
रेकर्डमा ट्रम्पले आफूले जर्जियाको चुनाव जितिसकेको र दोस्रो पटक फेरि मतगणना गरियो भन्दा गलत नहुने समेत बताएका छन्।
त्यहीँ रेफेनस्पर्जरको जवाफ छ, ‘राष्ट्रपति महोदय, तपाईं सामुन्ने चुनौती छ। जुन तथ्यांक तपाईंले प्रस्तुत गरिरहनुभएको छ त्यो गलत छ।’
राष्ट्रपति ट्रम्पले अधिकारीलाई संभावित कानुनी परिणामको धम्की समेत दिएका छन्।
उनले भनेका छन्, ‘तपाईंलाई थाहा छ उनीहरुले के के गरे भन्ने, यसबारे जानकारी नदिनु अपराध हो। तपाईंले यस्तो हुन दिन पाउनुहुन्न। यो तपाईं र तपाईंका अधिवक्ता रियानका लागि ठूलो खतरा हुनेछ।’
ह्वाइट हाउसले पनि उक्त रेकर्डिङप्रति अहिलेसम्म प्रतिक्रिया दिएको छैन।
जर्जिया प्रान्तमा डेमोक्रेट उम्म्ेदवार जो बाइडेनले जितेका थिए। उनले ३०६ इलेक्टोरल मत पाउँदा ट्रम्पले भने २३२ मात्रै पाएका थिए।
मतदान भए लगत्तैदेखि राष्ट्रपति ट्रम्पले चुनावमा ठूलो धाँधली भएको आरोप लगाइरहेका छन्। यद्यपि, उनले अहिलेसम्म कुनै ठोस प्रमाण दिन सकेका छैनन्।
अमेरिकाका सबै ५० प्रान्तले निर्वाचन परिणाम प्रमाणित गरिसकेका छन्। अमेरिकी अदालतहरुले जो बाइडेनको जितविरुद्ध परेका ६० रिट निवेदन रद्द गरिसकेका छन्।
अमेरिकी कंग्रेसले ६ जनवरीमा निर्वाचन परिणामलाई स्वीकार गर्नेछ भने २० जनवरीमा जो बाइडेनले नयाँ राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्नेछन्।