पर्सा- प्रहरीले वीरगन्ज महानगरपालिका–२१ लालबाट १०५ किलो लागूऔषध गाँजा सहित ७ जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण व्यूरो, काठमाडौं तथा पर्साको वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बिहान मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ बस्ने २४ वर्षीय विजय तामाङ, सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका–१० बस्ने २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङग गाउँपालिका–१ बस्ने ३७ वर्षीय निरज लामा, चितवन राप्ती नगरपालिका–२ बस्ने ५० वर्षीय सानुलाल तामाङ र पर्सा सखुवा प्रसौनी गाउँपालिका–३ बस्ने ५१ वर्षीय सहिद मियाँ आलमलाई पक्राउ गरेको हो।
लागुऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना.४ ख ६५२५ नम्बरको ट्रकबाट गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको उक्त ब्यूरोले जनाएको छ।
कञ्चनपुरमा २ जना पक्राउ
यसैबीच कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बिद्यानगरबाट करिब १ ग्राम ८७० मिलीग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय लोकेन्द्र कठायत र सोही ठाउँ बस्ने २२ वर्षीय विशाल थापा छन्।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.५ प ३९०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक लोकेन्द्र र मोटरसाइकलमा सवार बिशालको साथमा उक्त पदार्थ फेला पारी उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो।