एजेन्सी- भारतको ड्रग्स रेग्युलेटर (औषधि नियमन) निकायले दुईवटा खोपलाई औपचारिकरुपमा प्रयोगको अनुमति प्रदान गरेको छ।
अक्सफोर्डको कोभिड–१९ खोप कोभिशिल्ड र भारतको बायोटेक कम्पनीले निर्माण गरेको कोभ्याक्सिनलाई भारतले अनुमति प्रदान गरेको हो।
ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले कोभिशिल्ड खोप ७०.४२ प्रतिशत प्रभावकारी भएको बताएको छ।
कोभ्याक्सिन भारतमै तयार गरिएको खोप हो। यसलाई भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर निर्माण गरेको हो।
डीसीजीआईका निर्देशक डा.वीजी सोमानीले भारत बायोटेक कोभ्याक्सिन सुरक्षित र इम्युनको मजबुद बनाउन सक्षम रहेको बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्, ‘डीसीजीआईले सीरम इन्स्टिच्युट अफ इन्डिया र भारत बायोटेक भ्याक्सिनलाई अनुमति दिएको छ। यसले देशलाई कोरोनामुक्त बनाउन सहयोग गर्नेछ, बधाई भारत।’
यसअघि हिजो भारतमा सीरम इन्स्टिच्युटको कोभिशिल्डलाई प्रयोगको अनुमति दिइएको थियो।
कोभिशिल्ड र कोभ्याक्सिन दुबैको दुई डोज दिनुपर्छ। यी दुवै खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ। यस्तै भारतमा कैडिला हेल्थकेयरले निर्माण गरेको खोपलाई तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिइएको छ।
यसअघि शनिबार त्यहाँका केन्द्रीय मन्त्री प्रकाश जावडेकरले दुई खाेपले अनुमति पाइसकेकाे र अरु ३ खाेप अनुमति पाउने चरणमा रहेकाे बताएका थिए।