काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिबीचको विवाद उत्कर्षमा पुगेको छ।
गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला विष्टबीचको विवाद राजीनामासम्म पुगेको हो।
अध्यक्ष उप्रेतीका अनुसार उपाध्यक्ष विष्टले मंसिर २९ गते राजीनामा दिएकी थिइन्। उप्रेतीले नेपाल समयसँग भने, ‘करिब दुई हप्ता कुर्दा पनि राजीनामाको पत्र फिर्ता नलिएपछि पुस १७ गते तोक लगाएर सम्बन्धित फाँटमा पठाएको हुँ।’
तर उपाध्यक्ष विष्टले भने राजीनामा नदिएको बताएकी छन्। उनले भनिन्, ‘हामीबीच विवाद छ तर मैंले राजीनामा दिएकी छैन।’ जनताले निर्वाचित गरेको कारण सामान्य विवादकै भरमा राजीनामा नदिने उनको भनाइ छ।
विष्टले भनिन्, ‘कार्यकाल अब करिब डेढ वर्ष बाँकी छ। म राजीनामा दिने पक्षमा छैन। भित्रै बसेर लड्छु।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले राजीनामा पत्र अध्यक्षको तोकसहित आएको तर आधिकारिकताको बारेमा आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘अध्यक्षको तोक लागेको उपाध्यक्षको राजीनामा मेरो टेबलमा छ, तर उपाध्यक्ष विष्टज्यूले होइन भनेकोले आधिकारिता पुष्टि हुन बाँकी छ।’
चौलागाईले यो जानकारी निर्वाचन आयोगमा गराउने र छानबिन हुने बताए।
उपाध्यक्ष विष्टका अनुसार अध्यक्षसँग गाउँपालिकाको कामको विषयमा विवाद विगत दुई वर्षदेखि छ। पछिल्लो समय अध्यक्षले उनलाई गाउँकार्यकालिकाको बैठकमा बोलाउनसमेत छोडेका थिए।
विष्टले भनिन्, ‘बैठकमा बोलाउन छोड्नुभएको थियो, जानकारी पाएसम्म म आफैं जान्थेँ।’ अध्यक्ष उप्रेतीले भने यो कुरा अस्वीकार गरेका छन्।
दुवै जना तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुन्। केन्द्रमा पार्टी विभाजन भएपछि अध्यक्ष उप्रेती ओली पक्षमा लागेका छन्। उपाध्यक्ष भने आफू कुनै गुटमा नलागेको बताएकी छन्।