आइतबार, भदौ २१, २०८३

पर्यटकलाई स्वागत गर्न तयार घान्द्रुकवासी

कोभिडको खतरा उस्तै भए पनि अब भने घान्द्रुकवासी पर्यटकलाई स्वागत गर्न तयार भएका छन्। माघे संक्रान्तिसँगै घान्द्रुकमा पर्यटन प्रवेश गर्न पाउनेछन्। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

पोखरा– मध्यम दूरीको पदयात्राका लागि प्रख्यात छ अन्नपूर्ण बेस क्याम्प (एबीसी)। दसैंतिहार र अरु बिदाका बेला यहाँ स्वदेशी-विदेशी पर्यटकको लर्को नै लाग्थ्यो। 

कोठा नपाएर पर्यटक भान्सामा सुत्न बाध्य हुन्थे। तर  काेराेना महामारीका कारण लकडाउन सुरु भएपछि पर्यटक मात्र होइन सर्वसाधारणको आउजाउ नै रोकियो। जसको प्रभाव एबीसीमा पनि पर्ने नै भयो। 

एबीसीको बाटोमा पर्ने घान्द्रुक गाउँ पनि बाह्रै महिनाजस्तो भरिभराउ हुन्थ्यो। पोहोर चैतयता एकजना पर्यटक पनि त्यहाँ पुग्न पाएनन्। अन्तका पर्यटकीय केन्द्र खुले पनि घान्द्रुकेले खतरा मोल्न चाहेनन्। 

दसैंतिहारताका त सूचना नै निकालेर बाहिरबाट आउने आफन्त र कुलकुटुम्बलाई समेत रोक लगाइयो। गाउँकै मान्छे आए पनि क्वारेन्टाइन अनिवार्य नै गरियो । 

कोभिडको खतरा उस्तै भए पनि अब भने घान्द्रुकवासी पर्यटकलाई स्वागत गर्न तयार भएका छन्। माघे संक्रान्तिसँगै घान्द्रुकमा पर्यटन प्रवेश गर्न पाउनेछन्। 

अन्नपूर्ण क्षेत्र भित्रको महत्वपूर्ण गन्तव्य मानिने घान्द्रुक माघ १ गतेदेखि खोल्ने निर्णय गरिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ। कोभिडकै कारण अहिलेसम्म बन्द राखिएको घान्द्रुक अब भने खोल्न लागिएको समिति अध्यक्ष किसम गुरुङले जानकारी दिए।

अध्यक्ष गुरुङले कोभिडका कारण डराएर घान्द्रुक नखोल्दा सुरुमा आलोचना भए पनि स्थानीय र पर्यटक बचाउन त्यस्तो निर्णय गरिएको बताए। तर लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित घान्द्रुकबासी मारमा पर्दै गएकाले अब खोल्नलाई ढिलाइ गर्न हुँदैन भन्ने लागेको उनको भनाइ छ। 

घान्द्रुक क्षेत्र खोलिए पनि कोरोना भाइरस संक्रमण रोक्नका लागि स्वास्थ्यको प्रोटोकल भने पूरा गरिने बताए। 

‘सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुने तथा आवश्यकताअनुसार सेनिटाइजरको प्रयोग गर्न अनिवार्य लगाउने गरी घान्द्रुक क्षेत्र खुल्ला गरेका छौं,’ उनले भने।

यो गन्तव्य बन्द हुँदा घान्द्रुक आसपासका क्षेत्रमा जानसमेत समस्या पर्दै आएको थियो। तर अब घान्द्रुक क्षेत्र खुलेसँगै ती क्षेत्रहरुमा पनि जान सकिने पोखरामा आयोजित पत्रकार सम्मेलनमा  अध्यक्ष गुरुङले बताए। 

उनले भने, ‘मौसमले साथ दिएमा अब पर्यटक घान्द्रुकसहित घोरेपानीसम्म पुग्न सक्छन्।’ 

एबीसीको मुख्य प्रवेशद्वार नै घान्द्रुक थियो। घान्द्रुक बन्द हुँदा सबैतिर गुनासो बढ्यो। उनले भने, ‘तर, अब विशेष सतर्कता अपनाएर घान्द्रुक खुलाउने निर्णय गरेका छौँ।’

घान्द्रुक पर्यटन व्यवस्थापन समितिले त्यहाँ जाने पर्यटकमा कोभिड भएमा राख्नका लागि आइसोलेसनसमेत बनाएको छ। तीन वटा अट्याच बाथरुमसहितको आइसोलेसन बनाइएको समितिका अध्यक्ष गुरुङले जानकारी दिए। 

जहाँ कुनै पनि पर्यटकलाई ज्वरो आएमा आइसोलेसनमा राखिनेछ। त्यसरी राखिएको पर्यटकलाई नर्सको निगरानीमा राखिने समितिका अध्यक्ष गुरुङले बताए। बिरामीलाई आइसोलेसनमै सुपसहित सादा खानाको प्रवन्ध गरिनेछ। 

पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय गन्तव्य घान्द्रुक खुल्नु खुसीको विषय भएको बताए। 

‘हामीले पर्यटक आऊ भनिरहँदा पर्यटकीय क्षेत्रहरु बन्द छन्, पर्यटकीय क्षेत्र बन्द गरेर पर्यटक बोलाउनु भनेको बाटो छेकेर आउ भनेजस्तै हो, त्यसैले यी क्षेत्रहरु खुल्नुपर्छ, घान्द्रुक क्षेत्र खुल्दा हामी खुसी छौं,’ उनले भने। 

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीले अब पर्यटकीय गन्तव्य क्षेत्र खुलाउँदै जानु राम्रो हुने बताए। आफूले पहिलेदेखि नै घान्द्रुक खोल्न आग्रह गरिरहेको भन्दै ढिलै भए पनि घान्द्रुक क्षेत्र खुल्दा पर्यटनमा उत्साह थपिने विश्वास व्यक्त गरे।

पर्यटन पुनरुत्थान समिति गण्डकी प्रदेश संयोजक अग्निप्रसाद कँडेलले घान्द्रुक क्षेत्र खुल्नु व्यवसायी र पर्यटक दुवैका लागि खुसीको कुरा भएको बताए। ‘कोभिडसँग जुध्दै पुरानै लयमा फर्किनुको विकल्प छैन’, उनले भने।  

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले आजसम्म ‘सर्भाइभ’ ठूलो मानिएपनि अब पर्यटन व्यवसायलाई ‘रिभाइभ’तिर लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित: Jan 03, 2021| 04:36 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।