चितवन– मूर्ति चोरेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन्।
२७ किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका १२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर १२ कै सुरज तामाङ र रत्ननगर ११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो।
पुस १६ गते पक्राउ परेका उनीहरूलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
उनीहरुले रत्ननगर १२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए।
उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। दोषी ठहर भए उनीहरुलाई पाँचदेखि १५ वर्षसम्म कैद हुनसक्ने कार्कीले जानकारी दिए।