हुम्ला– हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ।
चर्को लोडसेडिङले आउँदो जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ।
कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा लामो समय लोडसेडिङ हुन थालेपछि एसइईमा नम्बर राम्रो नआउने हो कि भन्ने चिन्ता गर्न थालेका छन्।
जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि सरकारले कोरोना त्रासका कारण गत वर्षको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै यहाँका विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो।
ट्युसनको भरमा एसइईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीलाई दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराशा छाएको छ। हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए।