सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'संसद् पुनर्स्थापना हुँदैहुँदैन, देश चुनावमा गइसक्यो'

'संसद् पुनर्स्थापना हुँदैहुँदैन, देश चुनावमा गइसक्यो'

'पुनर्स्थापना हुने कुरा कहाँबाट आयो? कसले हुन्छ भन्यो?
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व खतरामा परेपछि संस्द विघटन गरिएको दाबी गरेका छन्। 

काठमाडौंमा शनिबार आयोजित नेकपाको कार्यकर्ता भेलामा सम्बोधन गर्दै ओलीले यी सबै समस्या समाधानका लागि संसद् विघटन गरेर निर्वाचन घोषणा गरिएको बताए।

उनले अब संसद् पुनर्स्थापना हुन नसक्ने बताए। उनले भने, 'पुनर्स्थापना हुने कुरा कहाँबाट आयो? कसले हुन्छ भन्यो?' 

उनले कार्यकर्ता झुक्याउन पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले संसद् पुनर्स्थापना हुन्छ भने पनि पुनर्स्थापना नहुने दाबी गरे। 

उनले भने, 'देश चुनावतिर गइसक्यो, निर्वाचन आयोगले तयारी गरिरहेको छ। सुरक्षा निकाय र दल चुनावको तयारीमा लागेका छन्। जनता ताजा जनादेशका लागि मतदान गर्न तयार भइसके।' 

१६५ सिटमा जित्ने दाबी 

प्रधानमन्त्री ओलीले संघीय प्रतिनिधिसभाको चुनावमा आफू नेतृत्वको दलले प्रत्यक्षमा १६५ सिट जित्ने दाबी गरे।

उनले भने, 'अझ धेरै आउँछ। धेरै नभनौं, हच्किने खतरा हुन्छ। तर्सिने खतरा हुख्छ।' 

उनले दाहाल नेपाल समूहलाई दुई अंक भएको सिट ल्याएर देखाउन चुनौती दिए।

उनले भने, 'तर उहाँहरु त्यस स्थितिमा उहाँहरु पुग्नु हुन्न, उहाँहरु फर्कनुहुन्छ। त्यसैले केन्द्रीय समितिमा ठाउँ राखिदिएका छौं।' 

उनले अब फर्कंदा उपद्रो मच्चाउन भने नपाइने बताए। ओलीले भने, 'फर्किएर आएकालाई थान्कोमा राख्नेछौं। गुटबन्दी निस्तेज पार्छौं। व्यक्ति फर्के पनि गुटबन्दी फर्कन दिने छैनौं।' ओलीले देशै अटाएको ठाउँमा दाहाल र नेपाल पनि अट्ने बताए। 

ओलीले भने, 'उहाँहरु भनिरहनुभएको छ, हामीतिर बहुमत छ, पखौं न वैशाख १७ र २७ गते हेरौं, कसले कसलाई पार्टीबाट निकालेछ, अनि थाहा हुनेछ।'

ओलीले दुई तिहाइ नजिकको सरकार ढालेर पुतलीहरु जोडेर सरकार बनाउन खोजेपछि संसद् विघटन गर्नुपरेको भनाइ राखे।

उनले भने, 'देशलाई सरकार बनाउने र ढाल्ने चक्रव्यूहमा पार्ने प्रयासलाई रोक्न, देशलाई माया गर्ने सरकार, जनताको मनोभावनअनुसार चल्ने सरकार चाहिएकाले लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउन प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा गरिएको हो।' 

उनले कतिपयलाई अझै संसद् पुनर्स्थापना हुन्छ कि भन्ने भ्रम रहेकाले त्यसमा नपर्न आग्रह गरे। 

उनले भने, 'जोसँग लगभग दुई तिहाइ झन्डै ६४ प्रतिशतले दलको नेताले म सरकार चलाउन्न ताजा जनादेश चाहिन्छ भनेपछि कहाँ छ र विकल्प?'

तीन महिनामा हुने काम तीन वर्षसम्म गर्न नदिएपछि

प्रधानमन्त्री ओली नेकपा एकीकरणपछि तीन महिनामा हुने काम दाहाल र नेपालले गर्दा तीन वर्षसम्म पूरा गर्न नसकिएको आरोप लगाए।

उनले भने, 'अचम्म लाग्छ, साथीहरुलाई म भन्न चाहन्छु, हामीहरुले तीन महिनामा पूरा हुने काम तीन वर्षमा पूरा गर्न दिएनन्। अनि ताजा जनादेशमा जानुको विकल्प भएन।'

३६ प्रतिशतले कसरी बन्छ सरकार?

प्रधानमन्त्री ओलीले आफूसँग संसद्को ६४ प्रतिशत रहेकाले ३६ प्रतिशत मिलेर सरकार गठन हुन नसक्ने ठोकुवा गरे।

उनले भने, 'जतिवटा पार्टी मिले पनि ३६ प्रतिशतले सरकार बन्दैन।' 

ओलीले संसद् विघटनविरुद्ध मुद्दा लड्न पाइए पनि आफूले प्रधानमन्त्रीको अधिकार प्रयोग गरेकोले संसद् पुनर्स्थापनाको सम्भावना नै नरहेको बताए।

उनले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसद् विघटन गरेर चुनावमा गई बहुमत ल्याएको प्रसंग पनि उल्लेख गरे।

उनले भने, 'यो संसदीय प्रणाली भएका देशको स्वाभाविक अभ्यास हो। भ्रममा नपरौं।'

सूर्य चिह्नमा कसैले दाबी गर्नु गफै त हो सम्धी

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने दाबी गरेका छन्।

उनले आफू नै पार्टीको आधिकारिक पहिलो अध्यक्ष रहेकाले पार्टीको नाम ‘नेकपा’ र चुनाव चिह्न ‘सूर्य’ हुनेमा निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गरे।

'दाहाल- नेपाल केन्द्रीय कमिटीमा बहुमतको कुरा गर्दै पार्टीको नाम र चुनाव चिह्न आफ्नो भन्दै हिँड्नुभएको छ', ओलीले भने, 'कहिलेको महाधिवेशनबाट उहाँहरु बहुमतमा पुग्नुभयो?' 

उनले दाहाल–नेपाल समूहका नेताहरुको बहुमतले पार्टी नाम र चुनाव चिह्नका बारेमा कुनै अर्थ नराख्ने बताए।

उनले भने, 'सूर्य चिह्न हामीसँग हुन्छ। पार्टी हाम्रो हो। उहाँहरु बहुमत हामीसँग छ भन्नुहुन्छ, गफै त हो सम्धी?'

न्यायालय र आयोगले गल्ती गर्दैनन्

प्रधानमन्त्री ओलीले न्यायालय र आयोग को असली पार्टी को नक्कली पार्टी भनेर छुट्याउन सक्ने अवस्थामै रहेको बताए।

उनले भने, 'हाम्रो अदालत चार्ली च्याप्लिन को हो भनेर चिन्न नसक्ने अवस्थामा छैन।

उनले दाहालप्रति संकेत गर्दै भने,  'न्यायालय र आयोगले जेल लगाएको, कुम हल्लाएको, जुँगा र अनुहार हेरेर मान्छे चिन्छन्। गल्ती गर्दैनन्।'

दाहाल- नेपाल समूह धेरै टिक्दैन

प्रधानमन्त्री ओलीले दाहाल नेपाल पक्षले एउटाले एकथरी र अर्काले अर्का थरी नारा लगाएर ठाकठुक हुन सुरु भइसकेको दाबी गरे। उनले दुइटा दर्शन ढुंगा ठोक्किएजस्तो हुन थालेको टिप्पणी पनि गरे। 

सुन्तला खान सल्लाघारीतिर जाने होइन

ओलीले दाहाल र नेपालको ध्यान पद र कुर्सीमा रहे पनि बैठकमा पद चाहियो भन्न बैठकमा आउन नसकेको टिप्पणी गरे। 

ओलीले भने, 'माथिका नेताहरुको ध्यान जम्माजम्मी पद र कुर्सीमा छ। पद चाहियाथ्यो भने त बैठकमा आउनुपर्थ्याे। पद पाउने ठाउँमा लाग्नुपर्थ्याे। सुन्तला खान मन थियो भने सल्लाघारीतिर किन जाने?' 

उनले दाहाल र नेपाललाई ठूलोठूलो पद चाहिएको तर दुवै नेता खडेरी परेको ठाउँमा गएको बताए। 

पार्टी बरमझियाको पेडा पसल हैन

ओलीले दाहाल नेपाल समूह पार्टी फुट्यो भनेर कराउनुको औचित्य नरहेको बताए। उनले भने, 'असली पार्टी आफूहरु रहेको भनेर कराइरहनुभएको छ। उहाँहरुले आयोगमा एउटा निवेदन हाल्नुभएको छ। असली हामी हौं भनेर बरमझियाको पेडा पसल हो यो? हामी असली हौं भन्ने?' 

भेट्नु कुहिएका दुइटा फलले रुखै म हुँ भन्ने?

ओलीले आफूहरु निर्वाचन आयोगमा निवेदन हाल्न नजाने बताए। उनले भने, 'जसको घर हो, ऊ मेरो घर हो भनेर निवेदन हाल्न जान्छ, जसको जमिन हो, ऊ मेरो जमिन हो भनेर निवेदन हाल्न जान्छ?' 

उनले आफूहरुलाई निवेदन हाल्नु आवश्यक नरहेको बताए। 

उनले भने, 'पार्टी हामीले स्थापना गरेका हौं, भेट्नु कुहिएका दुइटा फलले रुखै म हुँ भन्ने?' 

दाहाल नेपाल रत्नपार्कका औषधि पसले जस्ता

प्रधानमन्त्री ओलीले दाहाल नेपाल रत्नपार्कमा सिसीमा औषधि बेच्ने जस्तै रहेको बताए। 

ओलीले भने, 'जसरी रत्नपार्कमा ढाड दुखेको, हड्डी मर्किएको, टाउको दुखेको भनेर कराउँदै सिसीमा औषधि बेच्नेका अगाडि केही मानिस झुम्मिछन्, दाहाल नेपालको अवस्था पनि त्यस्तै छ।'

उनले भने, 'सिसीमा औषधी बेच्नेले पनि रत्नपार्कमा अलिअलि मानिस जम्मा गर्छ। उहाँहरुले पनि त्यसै गरिरहनुभएको छ।' 

उनले दाहाल नेपालसँग कुनै राजनीतिक एजेन्डा नै नरहेको टिप्पणी गरे। उनले भने, 'देश, लोकतन्त्र, संविधान संशोधन र संविधानको रक्षा उहाँहरुको एजेन्डा होइन।' 

जसको कटेरो उसको पुच्छर बाहिर

प्रधानमन्त्री ओलीले दाहाल नेपाल समूहले आफूलाई अध्यक्षबाट हटाएको विषयमा आश्चर्य प्रकट गरे। 

उनले भने, 'उहाँहरुले कार्की बेंक्वेटमा खानपिन गरेर केपी ओलीलाई निकाल्दियौं भन्नुभएछ। निर्वाचन आयोगमा ओलीलाई निकाल्यौं भनेर निवेदन दिनुभएछ, यो सुनेर निर्वाचन आयोगका पदाधिकारी कति हाँसे होलान्?' 

ओलीले पार्टी अध्यक्ष आफू रहेकाले आफूलाई कसैले निकाल्न नसक्ने दाबी गरे। उनले भने, 'जसको कटेरो उसको पुच्छर बाहिर।'

मानवीय मर्यादा ख्याल गर्न आग्रह

प्रधानमन्त्री ओलीले दाहाल नेपाल समूहलाई मानवीय मर्यादा ख्याल गर्न आग्रह गरे। 

सडकमा आफूलाई जोडेर लगाइएका नाराप्रति संकेत गर्दै ओलीले भने, 'सामाजिक प्राणी हुनुका नाताले मानवीय सभ्यता र मर्यादालाई ख्याल गरे हुन्थ्यो। उहाँहरुका कृत्यले देख्नेहरुलाई लाज भइसक्यो।'
 
लडाउन खोजे तर सकेनन् 

प्रधानमन्त्री ओलीले दाहाल नेपाल समूहले आफूलाई धेरै पहिलादेखि लडाउन खोजे पनि सफल हुन नसकेको बताए। 

उनले भने, 'यो मानिसले नेतृत्व गरिरहनपायो भनेर देशमा सर्लक्क परिवर्तन हुन्छ भनेर उहाँहरुलाई भतभती पालेको छ। छटपटी भएर छिर्के लाउन खोजे, लड्दैन, अल्झाउन खोजे, अल्झिएन, रोक्न खोजे रोकिएन।' 

मिडियाप्रति कडा टिप्पणी

प्रधानमन्त्री ओलीले केही नाम चलेका पत्रिकाहरुले मानिसलाई भड्काउने गरी भ्रामक समाचार छापिरहेको टिप्पणी गरेका छन्।

उनले भने, 'केही पत्रिकाहरुले जाली समाचारहरु छपाएका छन्। आफूलाई स्थापित हुँ भन्ने दैनिक पत्रिकाले मानिसलाई भड्काउन झुटा समाचार प्रायोजित ढंगले छपाएका छन्।'

गलत प्रचारमा नलाग्न युवालाई आग्रह

ओलीले केही मानिसका गलत प्रचारमा लागेर अलमलमा नपर्न युवालाई आग्रह गरे। उनले भने, 'देशलाई जोगाउने विषयमा सही ढंगले अगाडि बढ्नुपर्छ।' 

उनले दाहाल नेपाल समूहले देशमा अस्थिरता, अनुशासनहीनता , अराजकता ल्याएको आरोप लगाए। ओलीले त्यसलाई जोगाउन पनि आफूले संसद् विघटन गरेको दाबी गरे। 

उनले भने, 'उहाँहरु सरकारका विरुद्ध अराजक हुनुभयो। उहाँहरु प्रतिगमनतर्फ यात्रा र तयारी गरिरहनुभएको थियो। आन्दोललाई भिरबाट खसाल्न खोज्दै हुनुहुन्थ्यो, हामीले त्यसलाई रोकेका हौं।' 
 
माधव नेपाल देखेर दया लाग्छ

ओलीले अर्का समूहका अध्यक्ष माधवकुमार नेपाललाई देख्दा आफूलाई दया लागेको बताए।

उनले भने, 'पार्टीको महाधिवेशनमा मसँगै अध्यक्ष हार्नुभएको थियो। अहिले उहाँलाई अध्यक्ष नभई भएन, दोस्रो अध्यक्ष लिनुभएछ। कस्तो भ्रम? तैपनि सन्तुष्टि देखिन्छ, कठैबरी, माया लाग्छ।'

देशमा असाधारण विकास भएको दाबी

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि देशमा विकास तीव्र भएको दाबी गरे। दुनियाँ आश्चर्यचकित हुने गरी विकास भएको उनको भनाइ छ। 

उनले भने, 'नेपाल विश्वका तीव्र आर्थिक विकास गर्ने १० देशको सूचीमा परेको छ। मानव विकास सूचकांकमा तीव्रताका साथ अगाडि बढेको छ।' 

ओलीले नेपाल भन्ने नामै नसुनेका मानिसहरुलाई अहिले नेपालबारे धेरै कुरा थाहा भएको दाबी गरे।

उनले यसअघि नेपालका प्रधानमन्त्रीका बारेमा थाहै नहुने गरेकामा यसपटक धेरैलाई थाहा भएको बताए। उनले भने, 'अहिले भारतका हरेक मान्छेलाई नेपालका प्रधानमन्त्रीको नाम कण्ठै छ।' 

उनले नेपाललाई अन्तर्राष्ट्यि फोरमहरुमा थप चिनिँदै नेपालको दृष्टिकोणको सराहना हुन थालेको दाबी गरे। 

सुखी नेपाली समृद्ध नेपालमा टाउको दुखाइ

प्रधानमन्त्री ओलीले दाहाल, नेपाल र खनाल सुखी नेपाली र समृद्ध नेपाली भन्ने राष्ट्रिय आकांक्षामा कहिल्यै सकारात्मक नदेखिएको आरोप लगाए। 

उनले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिले समेत यो आकांक्षा सही रहेको र सघाउन तयार रहेको बताइरहँदा दाहाल, नेपाल र खनाललाई यसबारे कहिले नबोलेको बताए। 

उनले भने, 'उहाँहरुको वैरभाव किन, हरेक नेपालीले बोल्नुपर्ने कुरा होइन यो? बरु अरुले बोल्लान्, ढुंगो बोल्ला तर उहाँहरु बोल्नु भएन।' 

दाहाल-नेपाललाई अर्काले जस लेला भनेर चित्त दुखेकाले यसबारे केही नबोलेको आरोप ओलीको छ। 

विदेशी सम्बन्ध थप सुदृढ

प्रधानमन्त्री ओलीले विदेशीसँग सम्बन्ध थप सुदृढ हुँदै गएको दाबी गरे।

उनले भने, 'कम्बोडियाले प्लेन चार्डट गरेर हामीलाई औषधि सहयोग गर्दैछ। सायद आइपुग्यो होला। हामीले मागेर होइन, ऊ आफैंले दिन लागेको हो। अन्तर्राष्ट्रिय मित्रता सुमधुर भएको छ।'

उनले चीन र भारतसँग सम्बन्ध प्रगाढ हुँदै गएको बताए। 

उनले पछिल्लोपटक ऊर्जासचिव नेतृत्वको टोलीले भारतीय अधिकारीहरुसँग गरेको भेटघाटको पनि चर्चा गरे।

उनले भने, 'अब शारदा नहरको पानी चाँदनीदोधाराका बासिन्दाले पाउने भएका छन्।'

शारदा ब्यारेजबाट ६ महिनाभित्र चाँदनीदोधारामा सिँचाइका लागि पानी लैजाने सहमति भएको जानकारी उनले दिए। 

सुरुङ हेर्न विदेश जानु पर्दैन

प्रधानमन्त्री ओलीले सुरुङ हेर्न अब विदेश जानु नपर्ने बताए। उनले थानकोटतिर वनभोज खान जाँदा सुरुङ देखिन बताए।

यस्तै टोखादेखि छहरेसम्म र बेत्रावतीबाट स्याफ्रुबेसीसम्म  सुरुङ निर्माण क्रम अघि बढेको दाबी गरे।

उनले रक्सोल काठमाडौं र केरुङ काठमाडौं रेलमार्गको चर्चा पनि गरे।

उनले सुनकोसी डाइभर्सन र हुलाकी राजमार्ग निर्माण भइरहेको, तराई डुबानको समस्या समाधान गरेको, राजमार्गबाट तराईका जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण भइरहेको, पूर्वपश्चिम राजमार्ग चौडाइ बनाइरहेको, मदन भण्डारी राजमार्गको निर्माण धेरै अघि बढेको, चार सयभन्दा बढी पक्की पुल बनाएको फेहरिस्त पनि सुनाए।

ओलीले भूकम्पपीडितलाई सात लाख घर बनाएर हस्तान्तरण गरिएको, विद्यालय भवनहरु निर्माण सम्पन्न भइसकेको र तराईबाट क्रमशः फुसका छाना हटाइएको दाबी गरे। 

यस्तै यस वर्ष मात्र २० हजार विपन्नलाई घर बनाइदिएको उनको भनाइ छ।

कार्यकर्तालाई चुनावको तयारीमा जुट्न आग्रह

ओलीले कार्यकर्ताहरुलाई चुनावको अभियानमा जुट्न आग्रह गरे। उनले भने, 'कमिटीहरु चुस्त बनौं, आँधी तुफान भएर अगाडि बढौं।'

उनले हावादारी गफ आँधी र बाढीले बगाएर लैजाने बताए। उनले भने, 'दृढताका साथ अगाडि बढ्नुस्। एकछिन अलमल्याउन खोज्छन्। उनीहरुलाई ठेगान लगाउने हो। ठेगान लगाउने मैदान निर्वाचन हो। परिवार र पैसाका लागि मरिमेट्नेहरुका लागि देश बलिदान दिन सकिँदैन।'

उनले आन्दोलनको मूल धार आफूहरु रहेकाले पार्टी जोगाउने जिम्मा आफूहरुकै रहेको बताए।

उनले भने, 'अलमलमा परेका साथीहरुलाई फर्काऔं। सोझा साथीहरु अलमलमा पर्न सक्छन्।' ओलीले चटके काम देखेर अलमलिएकालाई देश बनाउने अभियानमा आउन आग्रह गरे। 
 

प्रकाशित: Jan 02, 2021| 15:42 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।