सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरियाली भाषा परीक्षाको टुंगो लागेन, तयारीमा जुटेका युवा अलमलमा

कोरियाली भाषा परीक्षाको टुंगो लागेन, तयारीमा जुटेका युवा अलमलमा

कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुंगो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन्।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं- कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुंगो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन्।

आकर्षक रोजगारीको गन्तव्यका रूपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएको थियो। परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी गरेका युवामा भने निराशा छाएको छ। 

कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ। कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर टुङ्ग्याउन सकेको छैन। यस्तै परीक्षा प्रणालीबारे पनि निर्क्योल हुन सकेको छैन।

कोभिड–१९ का कारण सन् २०२० मा पनि भाषा परीक्षा सञ्चालन हुन सकेन। गत वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष सन् २०२१ मा परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको इपिएस कोरिया शाखाले जनाएको छ। कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट पारेको छैन। 

’भाषा परीक्षा सञ्चालन गर्ने तयारी गर्दैछौँ भन्ने जानकारी आएको छ’, शाखाका निर्देशक इन्द्र गौतमले भने ‘लिखित पत्राचार तथा छलफल भएर यो समयमा परीक्षा गर्ने भन्ने तोकिएको छैन।’ यसअघि सन् २०१२ मा पनि भाषा परीक्षा रोकिएको थियो। यद्यपि कोरियाले सन् २०२१ को पहिलो त्रैमासमै भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको बुझिएको छ। 

 कोरियाले यसपटकदेखि ‘कम्प्युटर बेस्ड टेस्ट’ (सिबिटी) परीक्षा लिने तयारी गरेको छ। यसअघि ‘पेपर बेस्ड टेस्ट’ (पिबिटी) परीक्षा हुँदै आएको थियो। यसपटकदेखि पिबिटी नगरी सिबटी परीक्षा गर्ने जानकारी आएको उनले बताए। ’पिबिटी नगरी सिबिटी परीक्षा गर्ने औपचारिक निर्णय भइसकेको अवस्था होइन्’, निर्देशक गौतमले भने ’पिबिटी परीक्षामा पनि डेस्कटपभन्दा पनि ‘ट्याब’बाट अनलाइन परीक्षा लिने गरी तयारी गरिएको बुझिएको छ।’

कोरियाली पक्ष सिबिटी परीक्षाका लागि सफ्टवेर निर्माणमा जुटेको छ। सफ्टवेयरको परीक्षण गर्ने काम पनि भइरहेको छ। परीक्षा भवन निर्माणको काम पनि लगभग अन्तिम चरणमा पुगेको छ। कोरियाली टोली आएर अनलाइन परीक्षाको सम्भाव्यता हेर्ने काम भइरहेको छ। 

 अबदेखि पिबिटी परीक्षा नगर्ने कोरियाली पक्षले स्पष्ट पारिसकेको छ। ‘यो मितिमा परीक्षा गर्ने भन्ने छैन तर अब परीक्षा हुँदा ट्याबबाटै हुने कुरा छ’, उनले भने , ‘त्यहीअनुसारको पूर्वाधार तयारीको काम चल्दै छ, सिबिटीबाट परीक्षा सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको छ।’

कोटा छुट्टयाउनै बाँकी

दक्षिण कोरियाले सन् २०२१ मा विभिन्न १६ मुलुकबाट ५२ हजार आप्रवासी कामदार लिने घोषणा गरेको छ। कोरोनाका कारण कोरियाले गतवर्षको तुलनामा चार हजार कम विदेशी कामदार लिन लागेको बताइएको छ।

कोरियाले गत वर्षको तुलनाका आप्रवासी कामदारको कोटा केही कटौती गरेको भन्ने खबर सावर्जनिक भए पनि औपचारिकरुपमा इपिएस कोरिया शाखालाई जानकारी आएको छैन। देशगतरुपमा कामदारको कोटा बाँडफाँड गरेर अहिलेसम्म नपठाएको निर्देशक गौतमले जानकारी दिए। 

कोरोनापछि भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका युवा कोरिया जाने क्रम रोकिएको छ। ’कोभिड–१९ पछि नेपाली पठाउने क्रम रोकिएको छ’, उनले भने’ ’नेपाल तथा कोरियामा पनि ‘लकडाउन’ थियो, हवाई उडान बन्द थियो, त्यही कारण जान बन्द भएको हो।’ लकडाउन हटेर हवाई उडान नियमित भएपछि रोष्टरमा रहेका युवालाई कोरिया पठाउन पहल गरिरहेको उनले बताए। 

कोरियाले कोभिड पछाडि आफ्नो मुलुकमा स्वास्थ्य सुरक्षासम्बन्धी नियम परिवर्तन भएकाले सोहीअनुसार कामदार पठाउन भन्दै पत्राचार गरेको छ। ‘कोरोना बीमा, हवाई उडान, क्वारेन्टाइन, ४८ घण्टाभित्रको कोरोना परीक्षण रिपोर्टलगायत शर्त पूरा गर्नुपर्ने विषय उल्लेख गरेर पत्र आएको छ’, उनले भने , ‘हामी सबै विषय सम्बोधन गर्न तयार छौँ भनेर पत्राचार गरिसकेका छौँ, तर कोरियाबाट स्पष्ट जानकारी आएको छैन।’

नेपालले भाषा परीक्षा पास भएका सबै युवालाई रोजगारीका लागि मार्ग प्रशस्त गर्न कोरियासँग आग्रह पनि गरेको छ। ‘पास भएका सबै युवा कोरिया जाऊन् भन्ने हो’, निर्देशक गौतमले भने, ‘तर कोरियासँग भएको श्रम समझदारीको अवस्थाले त्यो देखिँदैन।’ कोरियासँगको श्रम समझदारी नवीकरणका समयमा नेपालले उक्त विषयलाई सम्बोधन गर्न औपचारिक आग्रह गर्ने पनि बताइएको छ। 

 सन् २००८ देखि हालसम्म भाषा परीक्षा उत्तीर्ण गरी ६२ हजार ८५२ पुरुष र चार हजार २० महिला गरी कुल ६६ हजार ८७२ युवा कोरिया गइसकेका छन्। कोरोना महामारीका बीच सन् २०२० मा एक हजार २७ जना कोरिया पुगेका छन्।

भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका युवा जाने क्रम हुँदाहुँदै नेपालमा लकडाउन शुरु भएको थियो। अझै पनि भाषा परीक्षा पास गरे रोष्टरमा रहेका १२ हजार युवा कोरिया जाने प्रतीक्षामा छन्। तीमध्ये छ हजार हाराहारी छनोटमा परिसकेका छन्। रोष्टर अवधि दुई वर्षको हुन्छ। दुई वर्षभित्र कोरियाली रोजगारदाताले छनोट गरेनन् भने उनीहरु कोरिया जान पाउँदैनन्। कोरियाले कृषि र औद्योगिक क्षेत्रमा नेपालबाट कामदार लैजाँदै आएको छ। 

नेपालबाट वार्षिक औषत आठ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने गरेका छन्। सन् २०१९ मा सात हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए। हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत रहेका छन्। रासस

प्रकाशित: Jan 02, 2021| 13:41 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।