काठमाडौं- नेकपा सचिवालय सदस्य रामबहादुर थापाले राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष को बन्ने भन्ने कुराले पार्टी विभाजन भएको बताएका छन्।
अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्रीसमेत रहेका थापाले पद र सत्ताको लोभका कारण पार्टी विभाजन भएको जिकिर गरे।
उनले पदलोलुप र सत्तालोलुप प्रवृत्तिले पार्टी विभाजन भएको टिप्पणी गर्दै प्रधानमन्त्री को बन्ने, राष्ट्रपति को बन्ने, अध्यक्ष को बन्ने जस्ता कुराहरुले पार्टी विभाजित भएको दाबी गरे।
थापाले भने, ‘को प्रधानमन्त्री, को राष्ट्रपति, को अध्यक्ष, को मन्त्री, को राजदूत हुने भन्ने कुराले आएको हो। यो कुनै राजनीतिक विचारधारा बहसबाट भएको विभाजन होइन।’
साथै थापाले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई साहसिक कदमको संज्ञा दिएका छन्।
उनले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउन कृत्रिम आरोपपत्र खडा गरेको पनि बताए।
उनले भने, ‘अध्यक्ष तथा प्रधानमन्त्री पनि मानिस भएकाले त्रुटि हुनसक्छ। अध्यक्षलाई कमरेडको रूपमा नभएर अपराधीको रूपमा खडा गर्नुभयो। देशको प्रमुखलाई, संसदीय दलको नेतालाई अपराधीको रूपमा खडा गर्नुभयो र प्रधानमन्त्रीबाट हटाउने योजना बनाउनुभयो।,’
थापाले पुष्पकमल दाहाललगायतका नेताहरु अविश्वासको प्रस्ताव ल्याउने राजनीतिक कू को दिशातिर गएका त्यसले अस्थिरता ल्याउने देखेपछि ओलीले संसद विघटन गरेको जिकिर गरे।
प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदम संवैधानिक हो कि असंवैधानिक भन्ने कुराको फैसला सर्वोच्च अदालतले गर्ने भएपछि त्यो कदम प्रतिगमन रोक्नका लागि साहसिक भएको थापाले बताए।