काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट खिया लागेका दुईवटा नटबोल्ट खुस्कँदैमा कुनै फरक नपर्ने बताएका छन्।
काठमाडौं जिल्ला कमिटीद्वारा शनिबार आयोजित बृहत् कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल र माधव नेपालप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले पार्टीमा रहेका फोहोर आफैं हटेर गएकाले अब शुद्धीकरण अभियान थालिने पनि बताए।
उनले भने, 'सन् २०२१ मा नेपालको कम्युनिस्ट आन्दोनका फोहाेरहरु बढार्नेछौं। कोभिडलाई पराजित गर्नेछौं, पार्टीलाई तुफानका रुपमा अगाडि बढाउनेछौं।'
उनले पार्टीको शुद्धीकरण अभियान र आन्दोलन सफल पार्न कार्यकर्तालाई आग्रह गरे।
उनले सरकारलाई काम गर्न नदिएपछि, जे काम गरेको थियो त्यसलाई प्रचार गर्न नदिएपछि संसद् विघटन गरिएको बताए।
उनले तीन महिनामा एकीकरण गर्नुपर्नेमा दाहाल र नेपालले तीन वर्षसम्म नदिएको आरोप लगाए।
ओलीले भने, 'एउटा कमिटीका गुटैगुटै, पार्टी पार्टीजस्तो थिएन। पार्टीले कार्यकर्तालाई काम गर्न दिइएन। बैठक बैठकजस्तो हुन दिइएन।'