काठमाडौं- सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटको फाइनल प्रवेश गरेको छ।
दाङको लमहीमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपीएफले नौ विकेटको जित निकाल्दै फाइनल प्रवेश गरेको हो।
टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा सात विकेट गुमाउँदै ६० रन बनायो। ६१ रनको लक्ष्य एपीएफले ६ बल बाँकी रहँदै एक विकेट गुमाएर पुरा गर्यो।
जितसँगै फाइनल पुगेको एपीएफकी ज्योति पाण्डेले सार्वाधिक २६ रनको योगदान दिइन् भने सरीता मगरले १९ बनाइन्। उनीहरु दुवै जना अविजित रहे। कप्तान सीता राना मगरले ७ रन बनाएको खेलमा अतिरिक्त ९ रन प्राप्त गर्दै एपीएफले लक्ष्य भट्टायो।
यता सुदूरपश्चिमकी कविता कुँवरले मात्र एक विकेट लिइन्।
त्यसअघि ब्याटिङमा आएको सुदूरपश्चिमका कविता कुँवरले २२ र रेवती धामीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गरेनन्।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न प्लेयर अफ दि म्याचसमेत भएकी करुणा भण्डारीले तीन विकेट लिइन् भने सीता राना मगरले एक विकेट गिराइन्।
मौसमको खराबीका कारण २० ओभरको खेल १६ ओभरमा घटाइएको थियो। अब फाइनलमा एपीएफले प्रदेश १ र लुम्बिनीको विजेतासँग खेल्नेछ।