काठमाडौं। संसद् विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको नेकपाको दाहाल- नेपाल समूहले आज दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो चरणको आन्दोलनको घोषणा गर्न लागिएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।
५ पुसमा नयाँ जनादेशमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपाको दाहाल नेपाल समूह सडक संघर्षमा उत्रिएको छ।
यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणका आन्दोलनको कार्यक्रम गरेको दाहाल नेपाल समूहले आज दोस्रो चरणका कार्यक्रम घोषणा गर्न लागेको हो।
संसद् विघटनविरुद्ध १४ पुसमा देशैभर जनप्रदर्शन सहित उक्त समूहले विरोध सभाको आयोजना गरेको थियो।
कानुनी रुपमा विभाजन भइनसके पनि राजनीतिक रुपमा विभाजन भएको नेकपामा अहिले दुई छुट्टै समूह बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूह र दाहाल नेपाल समूहले ५ पुसयता पार्टी कमिटीका छुट्टाछुट्टै बैठक राखेर एक अर्कालाई कारवाहीको निर्णय गरिसकेका छन्।
दुवै समूहले निर्वाचन आयोगमा आफ्नो आफ्नो वैधता रहेको भन्दै लिखित रुपमा केन्द्रीय कमिटी बैठकका निर्णय समेत पेश गरिसकेका छन्।
अहिले दुवै समूहले आफू नै आधिकारिक भएको दाबी गर्दै आइरहेका छन्। अब निर्वाचन आयोगले दुवै समूहमध्ये कसलाई वैधानिकता प्रदान गर्छ त्यसलाई महत्वका साथ हेरिएको छ।
अहिले दुवै समूहले एकअर्कालाई आरोप प्रत्यारोप गर्दै केन्द्रदेखि जिल्ला स्तरसम्म कार्यकर्ता भेला, बैठक लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन्।