झापा– झापा गाउँपालिका १ मिलनबस्तीमा सुकुम्बासी टोलमा सन्थाल समुदायको बसोवास छ। उनीहरुसँग पेट भर्नका लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँछन्।
यसरी वर्षौं बिताएका उनीहरु शुक्रबार भने खुशी देखिन्थे। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला सुकुम्बासी बस्तीमा न्यायो सिरक लिएर पुगेका थिए।
उनीहरुले गाउँपालिकाका अध्यक्ष जयनारायणको उपस्थितिमा क्लवले ल्याएको फाइबरका ८२ थान सिरक सन्थाल परिवारलाई वितरण गरेका हुन्।
‘पराल र दाउराको आगो तापेर रात बिताउँथे, आजदेखि सिरक ओढेर सुत्छु’, झापा गाउँपालिका–१ सुकुम्बासी बस्तीकी ७० वर्षीया सुका हस्दाले सिरिक पाएपछि खुशी हुँदै भनिन्। कपडा किनेर शरीर ढाक्न नसक्ने अवस्थाका उनीहरुलाई क्लबले दिएको न्यायो ओड्ने सिरकले खुशी ल्याएको हो।
उनीहरु कन्काइ नदीको किनारमा वर्षौंदेखि बसोवास गर्दै आएका छन्। बस्तीदेखि ५०० मिटर उत्तरमा कन्काइ नदी बगेको छ। जिल्लाकै विकट स्थानमध्ये यो वस्ती पनि रहेको गाउँपालिकाका अध्यक्ष साहले बताए। यहाँ सन्थाल समुदायको मात्र बसोवास रहेको छ ।
उनका अनुसार सुकुम्बासी बस्तीमा बसोवास गर्ने ८२ घर परिवार नै मजदूर र गाईबस्ती पालेर गुजारा चलाउँदै आएका छन्। उनीहरुको प्रायः दिउँदका रातहरु वर्षामा नदीले बगाएर ल्याएको मूढा र परालको आगो तापेर बित्ने गर्छ।