डा. बालाकृष्ण अधिकारी विगत १८ वर्षदेखि साहित्यको इतिहास विषयक चिन्तनमा संलग्न छन्। त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यको इतिहासलेखनका पद्धति शीर्षकमा विद्यावारिधि गरेका अधिकारी प्राध्यापन, समालोचना लेखन र सम्पादनमा क्रियाशील छन्।
उनका नेपाली साहित्यको इतिहास : सर्वेक्षण र विश्लेषण, नेपाली साहित्यको काल विभाजन : ऐतिहासिक विश्लेषण, संस्कृत साहित्यको प्रायोगिक स्वरूप, नेपाली साहित्यको इतिहास लेखनको आधार लगायतका कृति प्रकाशित छन्। मार्क्सवाद र साहित्येतिहास दर्शन उनको सद्य प्रकाशित कृति हो। सोही कृतिमा आधारित रहेर अधिकारीसँग नेपाल समयले गरेको कुराकानी :
मार्क्सवाद र साहित्येतिहास दर्शन पुस्तकको मूल विषयवस्तु के हो?
मार्क्सवादी साहित्येतिहास दर्शन, सिद्धान्त र पद्धतिको व्याख्या, निर्माण एवं पुनर्निर्माण नै मार्क्सवाद र साहित्येतिहास दर्शन पुस्तकको मूल विषयवस्तु हो। यो साहित्येतिहास दर्शन एवं पद्धतिबारे विमर्श गरिएको ग्रन्थ हो।
शीर्षक पढ्दा साहित्य र साहित्यको इतिहास जस्तो लागे पनि यो पुस्तक साहित्येतिहास दर्शनमा केन्द्रित छ।
अतः साहित्यको इतिहास कसरी लेख्ने, साहित्यको इतिहासका अन्तर्वस्तु र रूपको संयोजन कसरी गर्ने तथा साहित्येतिहासको विश्लेषण कुनकुन आधारमा केकसरी गर्ने भन्ने सन्दर्भ यसमा उठाइएको छ।
साहित्येतिहासको सिद्धान्त र त्यसको विश्लेषण पद्धतिको समष्टिबाट साहित्येतिहासको दर्शन निर्माण हुन्छ। यसमा मार्क्सवादी विचारधारा र मान्यताका आधारमा त्यस्तो दर्शनको निर्माण गरिएको छ।
त्यसैले विषयवस्तुका दृष्टिले यो अहिलेसम्म लेखिएका साहित्येतिहास दर्शनसम्बद्ध कृतिभन्दा नितान्त नयाँ र भिन्न छ।
साहित्यको इतिहास लेखनमा मार्क्सवादलाई नै आधार मान्नुको कारण के होला? अन्य आधार हुन सक्दैनन्?
साहित्यको इतिहासलेखनमा विधेयवादी/आदर्शवादी, इतिहासवादी, मार्क्सवादी, रूपसंरचनावादी र उत्तरसंरचनावादी/नवइतिहासवादी गरी अनेक दर्शन तथा पद्धति छन्।
विधेयवादी/आदर्शवादी दृष्टिकोणले ईश्वर वा महान् शासक, कुनै महान् स्रष्टाको एकल प्रभुत्वमाथि विश्वास गर्छ।
इतिहासवादी दृष्टिकोणले जुन कालखण्डमा इतिहासका घटना भएका छन् त्यही युगीन मूल्यका आधारमा साहित्यको इतिहास लेखिनुपर्छ भन्ने मान्यता राख्छ।
रूपसंरचनावादी दृष्टिकोणले कलासाहित्यको मूल्यलाई सार्विक र शाश्वत मान्दै कलासाहित्यको इतिहास नै नहुने र भए पनि त्यसलाई ‘शब्दजाल’ मात्रै ठान्छ। साथै इतिहासका कुनै पनि तथ्य सत्य नहुने आग्रह यसको छ।
उत्तरसंरचनावाद विधाको मूल्य विघटन गर्ने दृष्टिकोण हो। यसले साहित्य र साहित्येतिहासबीच भेद नै हुँदैन भन्छ।
नवइतिहासवादी दर्शनले साहित्यको इतिहासप्रति केही सकारात्मक सोच राख्दै सत्ताको प्रभुत्वका कारण अहिलेसम्म लेखिएका इतिहास भ्रमपूर्ण भएको विचार व्यक्त गर्दछ। अझ यसको त समग्र इतिहास हुँदैन भन्ने मान्यता छ। यसको विश्वास टुक्रे इतिहास र स्थानीय इतिहासमा मात्र रहेको देखिन्छ।
मार्क्सवादी दृष्टिकोणले भने साहित्येतिहासलाई ईश्वरीय प्रभुत्व, शासक तथा सामन्त र सम्भ्रान्त वर्गको चाहनाअनुकूलको आख्यानीकरण मान्दैन। साथै यो ऐतिहासिक मूल्यको मात्र विश्वासमा सीमित छैन। यसले साहित्यलाई शाश्वत मानेर साहित्यिकताको मात्र स्तुतिगान पनि गर्दैन र इतिहास अन्त्यको घोषणापत्र पनि बाँड्दैन।
यसले त इतिहासलाई आदिम कालदेखि अनन्त कालसम्म निरन्तर चलिरहने प्रक्रियाका रूपमा मान्छ। साथै मार्क्सवादी (ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी) अवधारणाअनुसार साहित्यको इतिहास इतिहासकै एउटा प्रवर्ग हो।
यसले मानवीय चेतनाको कलात्मक परम्परादेखि वर्तमानसम्मका यावत् घटना सन्दर्भलाई श्रमसौन्दर्य, उत्पादनका साधन र उत्पादकत्व उपज मान्छ।
'मार्क्सवादले इतिहास वा साहित्येतिहासलाई अतीतको अध्ययन मात्र नभएर त्यसलाई वर्तमानसम्म जोड्ने सेतु र भविष्यलाई मार्गनिर्देश गर्ने आधारका रूपमा उच्च मूल्यांकन गर्छ।
त्यसैले साहित्येतिहासका सन्दर्भमा सबैभन्दा व्यापक, सूक्ष्म, उपयुक्त र वैज्ञानिक दृष्टिकोण मार्क्सवादी दर्शनले राख्ने भएकाले साहित्यको इतिहासलेखनमा मार्क्सवादलाई नै मूल आधार मानिएको हो। साहित्येतिहास लेखनका अन्य आधार पनि हुन्छन्। वैज्ञानिक र सूक्ष्म आधार त मार्क्सवाद नै हो।
अनि दर्शन जोड्नुको सन्दर्भचाहिँ स्पष्ट पारिदिनुस् न।
दर्शन जीवन र जगत्लाई बुझ्ने गहिरो र प्रामाणिक प्रज्ञा हो। यसले जीवन र जगत्का आधार र अधिरचनाको गहन, बृहत् र सूक्ष्म ज्ञान सम्प्रेषण गर्छ।
अधिरचनाका विभिन्न प्रवर्गमध्ये साहित्येतिहास पनि एउटा हो। यसले मानव जीवनको उत्पत्तिदेखि वर्तमानसम्मका घटनावृत्तको सौन्दर्यपूर्ण विकासयात्रा, अन्तरसंघर्ष र सफलता–विफलताको विमर्श गर्छ।
हामी साहित्येतिहासका सन्दर्भमा अनेक अवधारणा पढ्नसुन्न पाउँछौँ तर यसबारे सूक्ष्म, व्यापक र आधिकारिक ज्ञानसंकथनको विमर्श गरिएको भेट्टाउन कठिन छ। यसो त यस्तो लेखन जटिल र चुनौतीपूर्ण पनि छ।
अर्कातिर संसारमा हरेक ज्ञानसंकथनका आआफ्नै दर्शन हुन्छन्। इतिहासको दर्शन हुन्छ, साहित्यको दर्शन हुन्छ, समाजशास्त्रको दर्शन हुन्छ, राजनीतिको दर्शन हुन्छ, शासनसत्ताको दर्शन हुन्छ र विद्रोहको पनि दर्शन हुन्छ।
हामीकहाँ ‘दर्शन’ शब्दले धेरै मानिसलाई के भ्रम छरिदिएको छ भने कि त यो संस्कृतका आदि आचार्यहरूको चिन्तन क्षेत्र हो कि त यो पश्चिमी विद्वान्हरूको प्रवर्तन हो। त्यस्तै नयाँ दर्शन निर्माण गर्न कुनै सिद्धपुरुष वा महापुरुष चाहिन्छ भन्ने लघुसोचले हामीलाई निकै संकुचित बनाएको छ।
के स्पष्ट हुनुपर्छ भने दर्शनका लागि चिन्तनको निरन्तरता हुनुपर्दछ जसले ज्ञानसंकथनलाई जीवन र जगत्का सापेक्षमा, दिक्कालका सापेक्षमा र कहिलेकाहीँ त्यसभन्दा पनि पर पुगेर सृष्टिरहस्यबारे तथ्यपरक कल्पना गर्न सकोस्।
यस पुस्तकमा मार्क्सवादी ज्ञानसंकथनका आधारमा साहित्येतिहाससम्बन्धी अधिरचनालाई सृष्टि, विकास, विस्तार/फैलावटको विकासवादी नियमका सापेक्षमा वैचारिक, सैद्धान्तिक र पद्धतिगत स्वरूप प्रदान गरिएको छ भन्ने विश्वासका साथ ‘दर्शन’ जोडिएको हो।
साहित्येतिहासमा अर्थतन्त्र, भूगोल र राजनीतिक सन्दर्भको भूमिका कस्तो पाउनुभयो?
साहित्येतिहासका दुई पक्ष हुन्छन्— अन्तरंग र बहिरंग। अन्तरंगले साहित्यको कलाशास्त्रीय विश्लेषणलाई मूल आधार मान्छ। यसको अनुराग साहित्यिक कृतिमा निहित सौन्दर्यशास्त्रीय विश्लेषणमा मात्र हुन्छ।
साहित्य मानवीय चेतनाको सबैभन्दा सुन्दर भाषिक अभिव्यक्ति हो। यसमा मानवजीवनका सुख, दुःख, विरह, वेदनाका अतिरिक्त सबैभन्दा बढी जीवनरक्षाका लागि मानव जातिले प्रकृतिसँग गर्नुपरेका अनवरत संघर्षको कथात्मक अभिव्यक्ति हुन्छ।
मानव जातिले आफ्नो अस्तित्वरक्षाका लागि युगैपिच्छे कैयन् संघर्ष गरेको हुन्छ। कहिले प्रकृतिसँग र कहिले आफ्नै अकर्मण्यताविरुद्ध मान्छेले संघर्ष गर्दै आएको छ।
यस्ता संघर्षलाई अहिलेसम्म जित्नेहरूको इतिहासका रूपमा अभिलेखीकरण गरिएको छ।
हार्नेहरूले त्यस्तो संघर्ष गरेकै छैनन् त ! पक्कै गरेका छन्। हार्नेहरूका संघर्षका कथा इतिहासका कुनै पत्रमा गुमनाम छन्। इतिहासकार वा साहित्यका इतिहासकारले ती यावत् संघर्षकथालाई उधिन्नु आवश्यक छ।
अहिलेसम्मका इतिहासमा जित्नेहरूका चाहनाअनुसार तिनका कथा लेखिएका छन्। त्यसमा पनि नायकीय चेतना वा ईश्वरीय चामत्कारिक चेतनाका आधारमा इतिहास लेखिएका छन्। संसारभरका साहित्येतिहासको विशेषता यस्तै हो।
अहिलेसम्मका साहत्येतिहास राजामहाराजा, शासक वर्ग, सामन्त वर्ग, पहुँचवाला वर्ग आदिको प्रभुत्वका आधारमा लेखिएका छन्।
यसले इतिहासका सत्यताको वस्तुपरक चित्र हाम्रा अगाडि राख्न सकेको छैन।
त्यसैले इतिहासमा शासकदेखि जनतासम्मका समग्र संघर्षको कलात्मक अभिव्यक्तिका रूपमा साहित्य र त्यसको युगीन चेतनायुक्त मूल्य निर्णय साहित्येतिहासमा हुन सकेको छैन।
यी सबैमा अर्थतन्त्रकाे भूमिका महत्त्वपूपूर्ण हुन्छ। जस्तै : अर्थ प्राप्तिका लागि लेखिएका सबै साहित्यिक कृतिमा मानवीय श्रम संघर्षका समग्र कथाव्यथा अटेका हुँदैनन्। अटे पनि तिनलाई युगको परिवर्तनका लागि नभएर अर्थ प्राप्तिमा मात्र सीमित गरिँदै आएको छ।
साहित्यको इतिहासलेखनमा अर्थतन्त्र मूल आधारका रूपमा रहेको हुन्छ। यसका अतिरिक्त भूगोल र राजनीतिले पनि साहित्यको इतिहासमा प्रभुत्व जमाउँछ। अहिलेसम्मका साहित्येतिहासमा राजधानी (सुगमता) को प्रभुत्व छ। साहित्यको इतिहासले कुनै एउटा भूगोललाई बढी प्राथमिकता र अर्को भूगोललाई कम प्राथमिकता दिनु हुँदैन।
साहित्येतिहासमा मात्र नभएर राष्ट्रका सर्वांगीर्ण पक्षमा राजनीतिक सन्दर्भले केन्द्रीय भूमिका खेलेको हुन्छ। राजनीतिक सन्दर्भ भन्नाले पार्टी राजनीतिलाई मात्र बुझ्नु हुँदैन। यसमा विचारधाराको प्रधानताको अपेक्षा गरिन्छ।
विचारधारा समाजको सामूहिक चेतनाको मोठ हो। यही सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति साहित्यमा हुने भएकाले साहित्यको इतिहासमा त्यसको प्रत्यक्ष प्रतिबिम्बन हुन्छ।
साहित्येतिहास दर्शनले साहित्यका इतिहासमा मानवीय चेतनाको सामूहिक कलात्मक चेतना कसरी व्यक्त भएको छ भन्ने कुरालाई जाेड दिने भएकाले साहित्यको इतिहासमा राजनीतिक सन्दर्भको महत्त्वपूर्ण भूमिका हुन्छ।
साहित्यमा अन्तरंग पक्षको जति महत्त्व बहिरंग पक्षको पनि हुने भएकाले साहित्येतिहासमा ती दुवै पक्षको समन्वय हुनु आवश्यक छ।
इतिहास त जित्नेको मात्र लेखिन्छ भन्ने मान्यता छ, साहित्येतिहासमा कस्तो पाउनुभयो?
लेनिनको विचारअनुसार जब मार्क्सवादी दर्शनलाई गहिरोसँग बुझ्ने व्यक्तिबाट इतिहास लेखिन्छ तब अहिलेसम्मका इतिहासमा सत्तासीन सम्भ्रान्त र सामन्त वर्गलाई कति बढाइचढाइ गरिएको रहेछ भन्ने स्पष्ट हुनेछ।
लेनिनको विचार भएकाले सत्य छ भन्न खोजिएको होइन तर के कुरा सत्य हो भने लेनिन मार्क्सवादलाई गहिरोसँग बुझ्ने विचारक थिए।
उनले पनि मार्क्सले जस्तै समाजका अन्तःसम्बन्धहरू र अन्तरविरोधलाई गम्भीर ढंगले बुझेका थिए। अहिलेसम्म लेखिएका अधिकांश इतिहास जित्नेहरूकै छन्।
नेपाली साहित्यको इतिहास लेखनको अवस्था कस्तो छ?
परम्पराका दृष्टिले धेरै काम भएका छन् तर विचारधाराका दृष्टिले स्पष्ट र समृद्ध छैन। धेरै कुरा गर्न बाँकी छ।
साहित्येतिहासको घटनावस्तु (प्लट) विचारधारा, कालविभाजन, जीवनी, मूल्यनिर्णय, प्रकल्पना, इतिहासचेतना लगायतमा विचारविमर्श र सन्तुलन कायम हुन सकेको छैन।
साहित्येतिहास लेखनको सुस्पष्ट योजना निर्माण, वैज्ञानिक विधि र पद्धतिको चयन एवम् व्यवस्थित प्रस्तुतिको अन्तर्संयोजन हुन बाँकी छ।
साहित्यको इतिहास भनेजस्तै साहित्यको अर्थतन्त्र, साहित्यको भूगोल र साहित्यको राजनीति लेखनमा बहस गर्न सकिन्न?
हामीकहाँ यस्ता विषयमा बुद्धिजीवीहरुको ध्यान गएको पाइँदैन। प्रतिष्ठानहरु पनि यस्ता गहन विषयमा विमर्श गर्न अघि सरेका छैनन्। समाज विज्ञानका हरेक आयामबाट साहित्यको अध्ययन हुनुपर्छ।
यो पुस्तक कस्ता पाठकले किन पढिदिऊन् भन्ने आग्रह छ तपाईंको?
यो पुस्तक राजनीति, समाज, संस्कृति, दर्शन, अर्थशास्त्र, कलासाहित्य, विज्ञान आदि धेरै विषय क्षेत्रका पाठकले पढ्नु आवश्यक छ। हरेक विषय क्षेत्रमा इतिहासचेतनाको आवश्यकता हुन्छ।
इतिहासचेतनाले अतीत र वर्तमानका बीचको सम्बन्ध जोड्छ। अतीतका सबल र दुर्बल पक्षलाई विश्लेषण गर्दै वर्तमानलाई उपलब्धिमूलक र भविष्यलाई समृद्ध बनाउन चाहने हरेक व्यक्तिले यो पुस्तक पढिदिए र बुझिदिए म धन्य हुनेछु।