सिन्धुपाल्चोक- स्थानीय गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विसं २०७५ मा पहिलो राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका वडा नं ९ गुफाडाँडामा यस वर्ष दोस्रो जलवायु दिवस तथा अन्तक्र्रिया गरिएको हो।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भएको सम्मेलनमा जिसस महासंघका उपप्रमुख तथा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले वातावरण प्रतिकूल हुनेखालको काम गरेकै कारणले अहिले प्राकृतिक विपत्ति भोग्नुपरेको बताए।
उनले तीन वर्ष अगाडि जारी गरिएको घोषणापत्र कार्यान्वयनको लेखाजोखा नभएको जनाउँदै कार्यान्वयन नगर्ने भए वर्षैपिच्छे सम्मेलन गरिरहनाको औचित्य नरहेको बताए।
जिसस सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले गुफाडाँडालाई पर्यटकीयस्थल बनाउन जिससले काम गरिरहेको बताए।
अन्तक्र्रिया कार्यक्रममा सहभागीले आफ्नो जीवन शैलीमा परिवर्तन गर्न सके जलवायु परिवर्तनका नकारात्मक असर जोगिन सक्ने प्रष्टाएका थिए। रासस