काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताएका छन्।
उनले राजनीतिक दलहरुले निर्वाचन भएरै छाड्ने भन्ने मनोविज्ञान जनतालाई दिन आन्दोलन गरिरहेको जिकिर गरेका हुन्।
अब मुलुक निर्वाचनमा गैरहेको बताउदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समूदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गरे।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिए।
सरकारलाई कतिपयले काम चलाउ भन्ने गरेको सन्दर्भमा उनले यो सरकारले संविधानअनुसार पूर्णअधिकारसहितको कार्य गरिरहेको दाबी गरे । कर्मचारी तथा कुनै पनि वर्ग समुदायलाई सरकारको काम कारबाही प्रति कुनै पनि भ्रममा नपर्न उनले आग्रह गरे ।
मन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुर्याउने गरी सडकमा नाराबाजी हुनु निन्दनीय भएको बताए।
उनले सम्मानित राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानुन र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने कोसिस भइरहेको बताउँदै राजनीतिक दल र राजनीतिक समूहहरुलाई जिम्मेवार हुन अनुरोध पनि गरे।