शनिबार, मंसिर २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले विदेश लैजान दिएन बोटलर्सको लाभांश, कागजात राजस्वको नियन्त्रणमा

राष्ट्र बैंकले विदेश लैजान दिएन बोटलर्सको लाभांश, कागजात राजस्वको नियन्त्रणमा

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपाल कम्पनी बोटलर्स नेपाल लिमिटेडले विदेश लैजान लागेको लाभांश नेपाल राष्ट्र बैंकले रोकेको छ। 
 |  शुक्रबार, पुस १७, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, पुस १७, २०७७

काठमाडौं- बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपाल कम्पनी बोटलर्स नेपाल लिमिटेडले विदेश लैजान लागेको लाभांश नेपाल राष्ट्र बैंकले रोकेको छ। 

National life

आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पाएको लाभांश कम्पनीले विदेश लैजान नेपाल राष्ट्र बैंकसँग सो आर्थिक वर्षको साधारणसभाअघि नै अनुमति मागेको थियो। तर सो कम्पनीले आफ्नो सेयर बिक्रि गर्दा नेपाल बाहिर नै शंकास्पद कारोबार गरी नेपालमा तिर्नुपर्ने ठूलो पूँजीगत लाभकर नतिरेको शंका गर्दै राष्ट्र बैंकले सो कम्पनीलाई लाभांश लैजान रोकेको हो। 

नेपालमा बोटलर्स नेपालका दुईवटा कम्पनी छन्। बोटलर्स नेपाल (बालाजु) जुन बोटलर्स नेपालको मुख्य कम्पनी हो। अर्को बोटलर्स नेपाल (तराई) बोटलर्स नेपालको सव्सीडरी कम्पनी हो। 

आर्थिक वर्ष २०७४/७५ मा बोटलर्स नेपाल बालाजुले नाफाको २० प्रतिशत र तराईले नाफाको ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो। बोटलर्स नेपालको सेयर स्वामित्व अफ्रिका बोटलिङ कम्पनीसँग थियो। 

सो कम्पनीले द कोकाकोला बोटलिङ इन्भेष्टमेन्ट ग्रुपलाई सन् २०१४ मै बेचे पनि स्वामित्व हस्तान्तरणबारे नेपालको सरकारी निकायलाई कुनै जानकारी दिएको थिएन। 

Laxmi sunrise bank
kumari

सन् २०१४ पहिले बोटलर्स नेपालको स्वामित्व सिंगापुरको फिजर एन्ड निभ (एफएन्डएन) कोकाकोला पिटिई लिमिटेडसँग थियो। तर सो कम्पनीले आफ्नै कम्पनी दुबईस्थित कोकाकोला साउथ वेष्ट एसिया होल्डिंस् लिमिटेड (साव्को)लाई स्वामित्व हस्तान्तरण गर्‍याे। सो स्वामित्व हस्तान्तरण गर्दा कम्पनीले नेपाल सरकारलाई जानकारी दिएन। जसबाट नेपाल सरकारले पुँजीगत लाभकर बापत पाउने अर्बौ रुपैयाँ गुमायो। 

२०७४ साउनमा बोटलर्स नेपालले राष्ट्र बैंकलाई बोटलर्स नेपालको दुबईस्थित कोकाकोला साउथ वेष्ट एसिया होल्डिङस लिमिटेडलाई दिइएकोले विदेशी लगानी लेखाङ्कन गरिदिन पत्र लेखेको थियो।

तर विदेशी लगानी लेखाङकनको लागि चाहिने सेयर स्वामित्व सम्बन्धी थप डकुमेन्टहरु राष्ट्र बैंकले माग गर्दा बोटलर्स नेपालले दिन सकेन। सोही समयदेखि कम्पनी शंकाको घेरामा परेको थियो। 

राष्ट्र बैंकले शंका गरेपछि उसले राजस्व अनुसन्धानलाई पनि खवर गर्यो। राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाललाई सुक्ष्म निगरानीमा नै राखीरह्यो। परिणामस्वरुप गत मंसिर २४ गते राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालको मुख्य कार्यालय बालाजुमा छापा मारयो र त्यहाँबाट महत्वपुर्ण कागजातहरु नियन्त्रणमा लियो। हाल राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। 

राजस्व अनुसन्धान विभागका प्रमुख दीर्घराज मैनालीले कम्पनीमाथि छानविन भइरहेकोले यही भएको हो भनेर भन्न सकिने अवस्था नरहेको जानकारी दिए। अनुसन्धानको निष्कर्ष नआउन्जेल राष्ट्र बैंकले सो कम्पनीलाई लाभांश विदेशमा लैजान रोक लगाएको हो। 

पछिल्लो दुइ आर्थिक वर्षमा भने कम्पनीले लाभांश दिने निर्णय गरेको छैन। आर्थिक वर्ष २०७५/७६ मा नाफा उच्च कमाएपनि कम्पनीले लाभांश दिएन भने गत आर्थिक वर्षमा कम्पनीले घाटा भएको वित्तिय विवरण देखाएको छ। 
हाल माउ कम्पनी बोटलर्स नेपाल (बालाजु) को कुल सेयर संख्या १९ लाख ४८ हजार ८८७ कित्ता सेयर छ भने बोटर्स तराईको कुल सेयर संख्या १२ लाख १० हजार कित्ता छ।

बोटलर्स नेपालको सेयर स्वामित्व कोकाकोला साउथवेस्टसँग १४ लाख ८४ हजार ३०१ कित्ता (७६.१६५) सेयर छ। त्यस्तै बाँकी २३.८३५ प्रतिशतमध्ये २१.९९५ प्रतिशत सेयर गोर्खा ब्रुअरी र १.८४ प्रतिशत सेयर सर्वसाधरणको रहेको  छ। 
त्यस्तै बोटलर्स तराईको ९०.७८ प्रतिशत सेयर बोटलर्स बालाजुको हातमा छ। बाँकी रहेको ९.२२ प्रतिशत सर्वसाधारणमा छ।

चालु आर्थिक बर्षको पहिलो तीन महिनामा बोटलर्स नेपाल बालाजुको नाफा २ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ छ, भने बोटलर्स तराईको नाफा एक अर्ब ८६ करोड ७३ लाख रुपैयाँ छ।

गत आर्थिक वर्षमा सहायक कम्पनी बोटलर्स तराईले ४ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको थियो भने बोटलर्स नेपाल बालाजुको नाफा ६ अर्ब ९३ करोड रुपैयाँ थियो। 

याे पनि हेर्नुहाेस्
पुँजीगत लाभकर नतिरेको भन्दै बोटलर्स नेपालको कार्यालयमा राजश्वको छापा

प्रकाशित: Jan 01, 2021| 12:50 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्