काठमाडौं- फुटबलको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीमध्ये पहिलो चरणमा ४४ खेलाडी छनोट गरिएको छ।
राष्ट्रिय फुटबल टिमका कार्यकारी प्रशिक्षक बालगोपाल महर्जनले १४ खेलाडीलाई बन्द प्रशिक्षणबाट हटाएर ४४ खेलाडी राखेका हुन्।
प्रशिक्षण सुरु भएको तीन हप्तापछि पहिलो चरणमा खेलाडी छनोटको क्रममा खेलाडी घटाइएको एन्फाले बताएको छ।
गत मंसिर २९ गते प्रशिक्षण सुरु गर्ने क्रमश प्रशिक्षक महर्जनले विश्वकप छनोट खेलसम्म चार चरणमा खेलाडी छनोट गरिने बताएका थिए।
बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा देव लिम्बू, रन्दिप पौडेल, अमित तामाङ, जय गुरुङ, नीतिन थापा, रजत तिवारी, दिपेश आले मगर छन्। त्यस्तै राजेश परियार, प्रजिन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन र विमल राना पनि पहिलो चरणबाट बाहिरिएका छन्।
अर्का खेलाडी विमल घर्ती मगर पनि प्रशिक्षणमा देखिने छैनन्। प्रशिक्षणका क्रममा घाइते भएका विमलको उपचारका लागि एन्फाले कतारी फुटबल संघ अन्तर्गतको अर्थोपेडिक अस्पतालमा व्यवस्था मिलाएको छ।
फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटका लागि नेपाली टिम सातदोबाटोस्थित एन्फाको मैदानमा बन्द प्रशिक्षणमा छ।
विश्वकप छनोटमा नेपालले तीन होम गेम खेल्न बाँकी छ।
यसअघि दुई पटक रद्ध भइसकेको छनोट खेल एसियाली फुटबल संघले आगामी चैत र जेठमा आयोजना गरेको छ।
नयाँ तालिकाअनुसार नेपालले दशरथ रंगशालामा चैत १२ गते चाइनिज ताइपेइसँग, चैत १७ गते अष्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग खेल्नेछ।