काठमाडौं– काठमाडौ मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी रकम लुटपाट गरेको अभियोगमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।
गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद १ लाख ६६ हजार ९१५ रुपैयाँ, सहकारीका कागजात तथा चेकबुक लुटेर फरार रहेको अभियोगमा प्रहरीले भुरुङखेल ताम्सिपाखा बस्ने काठमाडौं असनका २९ वर्षीय रोहन नेपाली शाही, थानकोट बस्ने नरदेवीका २२ वर्षीय अभय तुलाधर, चक्रपथ बस्ने नरदेवीका २७ वर्षीय अमित तुलाधर, नरदेबीका १८ वर्षीय किशोर र चक्रपथ बसुन्धरा बस्ने जुम्ला सिंजा गाउँपालिका-२ का २६ वर्षीय हरि शर्मालाई पक्राउ गरेको हो।
उनीहरुले नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफे नजिक पुगेका प्रेमलाई पुस १५ गते दिउँसो खुकुरी प्रहार गरी लुटपाट गरेका थिए।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३ सय २५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईलहरू, बैकका चेकहरु तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरेको बुझिन आएको प्रहरीले जनाएको छ।
उनीहरू मध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशालामा आवश्यक कारवाहीका लागि पठाईएको महाशाखाले जनाएको छ।