शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुनरुत्थान कर्जाकाे अधिकतम पहुँच लक्षित वर्गसम्म पुर्‍याइने

पुनरुत्थान कर्जाकाे अधिकतम पहुँच लक्षित वर्गसम्म पुर्‍याइने

सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी प्रवाह गरिने भएको छ।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं–  सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी प्रवाह गरिने भएको छ।

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको शुक्रबार अर्थ मन्त्रालयमा बसेको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जा लक्षित वर्गमा स्थापित हुने गरी प्रवाह गर्ने निर्णय गरेको हो। 

त्यसका लागि नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएसनले आवश्यक सहजीकरण गर्नेछन् भने प्रवाह गरिएको कर्जाको विवरण नियमित रुपमा सार्वजनिक गर्ने छन्। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले सहुलियतपूर्ण कर्जाको प्रभावकारिताबारे अध्ययन गरी अर्को बैठकमा प्रतिवेदन पेस गर्न नेपाल राष्ट्र बैंकलाई जिम्मेवारी दिएको छ। 

यस्तै उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा उपस्थित हुँदा सबै निकायले पन्ध्रौं योजनाले तय गरेको लक्ष्यअनुरुप प्रगति हासिल भएनभएको व्यहोरासहित प्रस्तुति दिने निर्णय  भएको छ। 

बैठकले अर्थतन्त्र पुनरुत्थानका लागि ल्याइएका नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि सरोकारवाला निकाय र संगठनमार्फत आएका गुनासाको सुनुवाइ गर्न राष्ट्र बैंक, बैंकर्स एसोसिएसन र सम्बद्ध व्यावसायिक संघसंगठनबीच छलफल गरी समाधान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। 

बैंकिङ पहुँच नपुगेका चार स्थानीय तहमा राष्ट्र बैंकले यथाशीघ्र तोकिएको बैंकको शाखा स्थापना गर्ने व्यवस्था मिलाउने, नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएको हालको प्रवृत्ति, यसको स्थायित्व र यसले समग्र पुँजी बजारमा पार्ने प्रभावको विश्लेषण गरी नियमित रुपमा अद्यावधिक गर्ने निर्णय भएको छ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैकका गभर्नर, अर्थ सचिव, सचिव (राजस्व), डेपुटी गभर्नरलगायतका पदाधिकारीको उपस्थिति थियो।

प्रकाशित: Jan 01, 2021| 11:16 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्