काठमाडौं– सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाइ १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्तकुमार उपाध्याय रहेका छन् ।
उनीहरूले इन्स्टाग्राम र ह्वाट्सएपमा फेक आइडीमार्फत सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल ईन्जिनियर बताउँदै ठगी गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार उपाध्यायद्वयले आईफोन ११ मोबाइल, ल्यापटप र गोल्डलगायत बहुमूल्य सामानहरुको गिफ्ट बक्स पठाइदिएको तर, ती वस्तुको डेलिभरीका लागि भन्सारबापत रकम पठाउनु पर्ने भन्दै पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक-पटक रकम जम्मा गर्न लगाएका थिए।
घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेका धर्मेन्द्र र अनन्तलाई पक्राउ गरेको हो।
उनीहरूलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महाशाखाले जनाएको छ।