काठमाडौं– जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादीबीच एकता भएको छ। अमृत पुरी नेतृत्वको एकीकृत मार्क्सवादी शुक्रबार जसपासँग गाभिएको हो।
एकताको घोषणापत्रमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा एकीकृत मार्क्सवादीका अमृत पुरीले हस्ताक्षर गरेका छन्। पार्टी एकताले श्रमजिवी जनता र उत्पीडित आन्दोलनलाई थप शक्ति मिलेको एकतापछि जारी विज्ञप्तिमा बताइएको छ।
‘एकताले लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजीवि जनता र उत्पीडित राष्ट्रियता, महिला र शिल्पी–दलित समुदायको मुक्ति आन्दोलनमा शक्ति प्रदान गर्दै सशक्त पार्नेछ। एकताले अग्रगामी लोकतान्त्रिक ध्रुवीकरणमा योगदान गर्नेछ भन्नेमा विश्वास गर्दछौं। आजकै मितिबाट एकीकृत मार्क्सवादीका सबै सदस्य तथा समितिहरु जसपा नेपालका सदस्यमा रुपान्तरण भएको घोषणा गर्दछौं।’