काठमाडौं- नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस अहिले सर्वोच्च अदालतले गर्ने फैसलाको पर्खाइमा रहेको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर ३ मा जनतासँगको अन्तर्क्रिया कार्यक्रममा नेता लेखकले संसद विघटनसम्बन्धी विचाराधीन मुद्दामा सर्वोच्च अदालतबाट आउने फैसलापछि नै कांग्रेस अघि बढ्ने बताए।
‘हामीले यो कदम असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर भनिसकेका छौँ,’ उनले भने, ‘यसको संवैधानिकता र कानुनी आधार जाँच गर्ने सर्वोच्च अदालतले हो। त्यसले निर्णय देला र अदालतको निष्कर्ष आइसकेपछि हाम्रो निष्कर्ष आउने छ।’
सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेमा त्यसपछि कांग्रेसले पुनःस्थापित संसदभित्रै आफ्नो भूमिका निर्वाह गर्ने नेता लेखकले बताए।
अर्कोतर्फ सरकारले बैशाख १७ र २७ गतेका लागि घोषणा गरेको निर्वाचन पनि हुनसक्ने भन्दै लेखकले त्यो अवस्थामा कांग्रेस नडराईकन, नतर्सिकन आफ्ना एजेन्डा लिएर जनता माझ जाने बताए।
‘नेपाली कांग्रेस जनताका माझमा जाने कुरामा पछाडि हट्दैन, तर्सिदैन, भाग्दैन। हामी प्रष्ट रुपमा जान्छौं,’ उनले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि नगर्ने काम भएमा हामी आन्दोलनमा जान्छौँ।’
आन्दोलनका मार्फत् संविधान र लोकतान्त्रलाई बचाउन कांग्रेसले भूमिका खेल्ने भन्दै लेखकले मुलुकलाई अन्यौल र अराजकतातर्फ लैजान नदिइने बताए।