काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको र यसलाई कुनै पनि हालतमा विभाजन हुन नदिइने दाबी गरेका छन्।
५ पुसमा संसद् विघटन गरेपछि एकीकृत नेकपा विभाजित भएर छुट्टाछुट्टै समूहमा अलग्गिसकेको अवस्थामा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन्।
अंग्रेजी नयाँ वर्षको अवसरमा ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवालाई शुक्रबार भर्चुअल सम्बोधन गर्दै ओलीले ‘केही साथीहरु बाहिर गएर पार्टीका बैठक र कार्यक्रमहरु गरिरहेको’ टिप्पणी गरे।
‘यथार्थमा पार्टी विभाजन भएको छैन। मैले केन्द्रीय कमिटीको बैठक बोलाएँ, उहाँहरु आउनुभएन। पार्टीको बैठकमा नआउने र अन्यत्र बसेर अध्यक्ष निकाल्यौं, म अध्यक्ष भएँ भनेर घोषणा गर्ने काम गर्नुभयो,’ ओलीले भने, ‘अहिले पनि उहाँहरु पार्टीमा आउन सक्नुहुन्छ। बैठकमा आउनुपर्छ। म बैठक बोलाउँछु। बैठकमा बसौं, छलफल गरौं। मेरो उहाँहरुलाई आग्रह छ।’
पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायत प्रणालीको मजाक गरेर जग हँसाउने काम सडकमा गर्दै आइरहेको ओलीको आरोप छ।
‘हैसियतको मर्यादा नराखेर जगहँसाइ गरिरहनुभएको छ। यो दुःखद् हो। पार्टी फुटेको होइन, उहाँहरु हामी यहाँ छौं भनेर छातीमा टाँसेर किन हिँड्नुभयो मैले पनि बुझ्न सकेको छैन,’ उनले भने, ‘हामीले त पार्टीबाट कसैलाई निकालेका छैनौं। पार्टीमा किन छलफल नगर्ने ? अन्यत्र बसेर अध्यक्ष म भएँ, संसदीय दलको नेता भएँ भनेर घोषणा गर्नुहुन्छ। उहाँहरु प्रणालीको मजाक उडाइरहनुभएको छ।’
पदको हतारोलाई मान्न नसकेकै कारण बाहिर सडकमा गएर आन्दोलन गरिरहेको भन्दै ओलीले सहमति तोड्ने सिलसिला चुनाव लड्दादेखि नै सुरु भएको बताए। ‘तीन वर्षअघि हामीले नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र तालमेलका साथ चुनावमा जाने र त्यसपछि एकता गर्ने सहमति गर्यौं,’ उनले भने, ‘निर्वाचन सम्पन्न भएर मंसिर २४ मा नै निर्वाचनको नतिजा आइसके पनि फागुन २ गतेसम्म पनि सरकार बन्न सकेन।’
पार्टी एकीकरण नभइसकेकाले प्रचण्डले सरकार गठन गर्दा प्रतिनिधि दिन नमानेको भन्दै ओलीले चुनावमा गरिएको तालमेल भन्दा बाहिर गएर अन्य पार्टीसँग मिलेर सरकार गठनको प्रयास गरिएको बताए।
‘बडो मुस्किलले पार्टी एकता गरियो। उहाँको छाँटकाँट त राम्रो देखिएको थिएन। धेरै ठूलो बार्गेनिङ भयो,’ उनले भने, ‘तीन महिनामा सक्ने भनिएको पार्टी एकीकरणको काम हुन सकेन।’
चुनावी तालमेलका लागि प्रमुख पार्टीको अध्यक्षका हिसाबले आफूले नै कोसिस गरेको ओलीको भनाइ छ। ‘अहिले पनि एकता जोगाउनका लागि मैले नै अत्यन्तै धैर्यताका साथ जोगाइराख्ने प्रयास गरेँ तर, पार्टीका नेताहरुले सरकारको पक्षमा एक शब्द नबोल्ने, सरकारकाविरुद्ध प्रतिपक्षी भन्दा अगाडि बढेर विरोध मात्रै गर्ने। संसदीय व्यवस्थाको मर्यादासमेत नराखेर सत्ता पक्षीयले नै सरकारका विरुद्ध गरियो,’ ओलीले भने, ‘बाहिर पनि सञ्चारमाध्यममा लगानी गर्ने र आफूबाट सञ्चालित, विभिन्न माध्यमबाट सञ्चालित सम्पूर्ण सामर्थ्य लगाएर सरकारलाई खुइल्याउने नीति लिएर नेताहरु अघि बढे।’
ओलीले थपे, ‘पार्टीको बैठकमा नआएर छुट्टै भेला गर्नुभयो। दलको सर्वसम्मतले छानिएको नेता र प्रथम अध्यक्षलाई थाहा नदिएर बाहिरै बैठक गरियो। पार्टीबाट कारवाही गरेर अध्यक्षलाई निकाल्यौं भनेर सडकमा घोषणा गर्नुभयो। पार्टी अध्यक्षलाई निकाल्ने पनि एउटा प्रक्रिया हुन्छ होला नि ? हामीले एकीकरणको बाटो थालेका थियौं, उहाँहरुले गुटबन्दी, विभाजन र फाटोको बाटो ल्याउनुभयो। त्यसलाई स्वीकार गर्न सक्ने कुरा भएन।’
पार्टी विभाजन गर्न दाहाल–नेपालको टिम नै लागेको ओलीले बताए। ‘उहाँहरु एक–दुई जना होइन, टिम नै लागेको छ। कसका कारण, आदेश र निर्देशनमा लाग्नुभयो, उहाँहरु नै जान्नुहोला,’ उनले भने, ‘देशको हितविपरीत र कम्युनिष्ट पार्टीको एकता खलबलाउन खोजेपछि मैले उहाँहरुको यो काम रोक्नका लागि अहिलेको परिस्थिति आएको हो।’
देशको समय बर्बाद हुन नदिन, संविधान र प्रणालीको रक्षाका लागि अहिलेको कदम चालिएको भन्दै ओलीले अब नयाँ जनादेशबाट नै मुलुक अघि बढ्ने बताए।
सम्बोधनका क्रममा ओलीले विघटित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकाप्रति पनि आक्रोश व्यक्त गरे। सभामुखले सरकारले संसदमा लगेका प्रस्तावलाई निर्णयार्थ पेश नगरेर अराजकता ल्याउने काम गरेको ओलीको आरोप छ।