बुधबार, असोज २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मध्यम वर्गका व्यवसायीलाई पुनर्कर्जा दिन राष्ट्र बैंकले आवेदन माग्यो 

मध्यम वर्गका व्यवसायीलाई पुनर्कर्जा दिन राष्ट्र बैंकले आवेदन माग्यो 

नेपाल राष्ट्र बैंकले मझौला ऋणहरूलाई लक्षित गरी बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जाको लागि आवेदन माग गरेको छ। 
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले मझौला ऋणहरूलाई लक्षित गरी बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जाको लागि आवेदन माग गरेको छ। 

शुक्रबार सूचना जारी गर्दै बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले माघ १६ गतेभित्र आवेदन दिनुपर्ने जनाएको हो। 

आवेदनको समय सकिएपछि राष्ट्र बैंकले एकमुष्ट रकम बैंक तथा वित्तीय संस्थाको खातामा पठाउने छ। 

कोभिड १९ बाट अति प्रभावित तथा मध्य प्रभावित मध्यम वर्गका उद्योगी व्यवसायीले पुनर्कर्जाको लागि आवेदन दिन सक्ने छन्। 

राष्ट्र बैंकका अनुसार पुनर्कर्जा १५ लाखदेखि ५ करोड रुपैयाँसम्म लिने ऋणीहरूका लागि हो। 

राष्ट्र बैंकले यो वर्षबाट बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट पुनर्कर्जा रकम दिन थालेको हो। यसअघि व्यक्तिगत रुपमा निवेदन आह्वान गथ्र्यो। 

राष्ट्र बैंकसँग हाल ४२ अर्ब ५८ करोड रुपैयाँको कोष छ। यसको ५ गुणासम्म अर्थात् २ खर्ब १२ अर्ब ९० करोड बराबर रकम राष्ट्र बैंकले पुनर्कर्जाको लागि ऋण दिन सक्ने छ। 

कोषको ७० प्रतिशत पुनर्कर्जा एकमुष्ट रकम उपलव्ध गराइने बैंकले जनाएको छ। बाँकी ३० प्रतिशत मध्ये २० प्रतिशत व्यक्तिगतका लागि र १० प्रतिशत रकम लघुवित्तले दिने पुनर्कर्जाको लागि छुट्याइएको छ। 

पुनर्कर्जाको ब्याजदर ३ देखि बढीमा ५ प्रतिशत हुन्छ भने एक वर्षसम्म सो रकम चलाउन  पाइने छ। कोरोना अति प्रभावितको हकमा भने बैंक र राष्ट्र बैंकले मनासिव लागेमा समयावधि थप्न सक्ने प्रावधान पनि छ। 

यसअघि नेपाल राष्ट्र बैंकले आह्वान गरेको पुनर्कर्जा आवेदनमा ४१ हजार ऋणीको ८१ अर्ब रुपैयाँ बराबरको ऋण स्वीकृत भइसकेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन्। 

स्वीकृत ऋणीमध्ये ३३ हजार भन्दा कम ऋण भने साना ऋणी अर्थात् १५ लाख भन्दा कम ऋणीहरूले पुनर्कर्जाको लागि आवेदन भरेका थिए। 
 

 

प्रकाशित: Jan 01, 2021| 07:00 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्