काठमाडौं– अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु वर्षहरुभन्दा धेरै फरक र पीडादायी भएर बितेको छ।
विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो वर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने देखिएको छ।
सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोना भाइरसको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पार्याे भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो। कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्त्वपूर्ण घटना भएका छन्। यस वर्षका मुख्य घटना छोटकरीमा चर्चा गरिएको छ।
कोरोना महामारी
यस वर्षको सबभन्दा ठूलो घटना भनेकै कोरोना महामारी बन्यो। सम्भवतः यस युगकै ठूलो घटनाको रूपमा यो महामारी रहनेछ। कोरोनाको सर्वव्यापी र सर्वपक्षीय क्षतिको कुनै हिसाव किताव गरेर नै सम्भव छैन।
तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ। कोरोनाका कारण सन् २०२० को अन्तिमसम्म १८ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड १३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।
आर्थिक क्षतिको भरपर्दो विवरण अझै आएको छैन। महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ। फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ। अन्य खोप पनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामारी न्यूनीकरण हुने अपेक्षा छ।
ईयूबाट बोलायतको बहिर्गमन
लामो विवाद र रस्साकस्सीपछि बेलायत युरोपेली संघ (ईयू) बाट बाहिरिएको छ। जनवरी ३१ मा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको हो। पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्याेलमा थियो। युरोपेली संघबाट बाहिरिएपछि अहिले व्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ।
ट्रम्पमय राजनीति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहे। यस वर्ष कार्यकाल नवीकरण गर्ने वर्ष भएकाले पनि बढी चर्चा भयो। गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसके पनि उनले निर्वाचनका बेलाको आरोपप्रत्यारोप, मास्क बहिष्स्कार, कोरोनाप्रतिको उनको दृष्टिकोणलगायतका कारणले चर्चाको केन्द्रमा रहे।
दोस्रो कार्यकाल काम गर्न नपाउने दुर्लभ राष्ट्रपतिका रुपमा उनलाई यस वर्षले टुंगो लगायो। उनलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित भए। निर्वाचनपछि पनि उनले नतिजा अस्वीकार गरेर थप चर्चा बटुले। वर्षको सुरुवातमा फेब्रुअरी ६ तारिखका दिन तल्लो सदनमा पारित ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटले खारेज गरेकाे थियो।
अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता
अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो। सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गरे। त्यो घोषणा उनको कार्यकालको अन्त्यतिर मात्रै लागू भयो।
तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ बर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको ठानिएको छ। तर शान्ति प्रक्रिया भने अझै पनि निश्कर्षमा पुगेको छैन।
सलह आतंक
यस वर्ष विश्वव्यापी चर्चित घटनामध्ये सलह आतंक पनि एक रह्यो। विषेश गरेर दक्षिण एसियाली मुलुकमा यसले सतायो। कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य संकट आउने सम्मको विश्लेषण गरिएको थियो।
सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक बर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो। त्यसपछि पाकिस्तानमा ठूलो क्षति पुर्याउँदै भारत हुँदै नेपाल छिरेको थियो। यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको छ।
ठूला दुःखद घटना
इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभर तरंग फैलायो। जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो।
इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकार गरेको छ। दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो। खासगरी इरान र यूक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए।
लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा झण्डै ८० जनाको मृत्यु भयो।
अस्ट्रेलियामा लागेको डढेलोले धेरै जीवजन्तुले ज्यान गुमाए। आगलागी नियन्त्रण गर्न हम्मे हम्मे परेकाे थियो। आगलागीको असर अन्य देशमा पनि पर्यो।
अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले हत्या गरेपछि रंगभेद आन्दोलनले अमेरिका तरंगित भयो।
किमको मृत्युको हल्ला
बेलाबेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको हल्लाले पनि धेरैको ध्यान खिच्यो। दक्षिण कोरिया र केही पश्चिमा सञ्चारमाध्यमहरूले किम २० दिनसम्म सम्पर्कविहीन हुँदा उनको मृत्यु नै भएको समाचार सम्प्रेषण गरेका थिए।
उनको निधन भएको समाचारप्रति विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले समेत चासो र चिन्ता व्यक्त गरेका थिए। झण्डै २० दिनपछि उनी प्योङयाङ नजिकै रहेको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहबाट सार्वजनिक भएका थिए।
म्यारोडोनाको मृत्यु
फुटबलका सर्वमान्य खेलाडी डिएगो म्यारोडोनालाई यसै वर्ष गुमाउनुपर्यो। उनले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाएका थिए।
सन् २००० मा फिफाले मतदान गराउँदा अर्जेन्टिनाका फुटबल हस्ती म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन भएका थिए। खेल जगतमा कतिपयले उनलाई फुटबलमयी खेलाडी र भगवान्समेतको संज्ञा दिने गरेका छन्।
म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए। उनको निधन भएपछि अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो।
यी बाहेक पनि वर्ष सन् २०२० मा विश्वले अरु पनि धेरै प्रभावशाली र स्मरणीय व्यक्तिहरुलाई गुमाएको छ। त्यसैगरी अरु धेरै दीर्घकालीन महत्व राख्ने घटना पनि भएका छन्।
धेरै देशले कोरोना महामारीका बीचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनीतिक समीकरण र सीमा विवादबारे बेला बेलामा चर्चामा रहेका थिए। –रासस