कैलाली– कैलालीको भजनी नगरपालिका ३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष भएको छ। नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।
हुलाकी राजमार्गअन्तर्गत निर्माण हुन लागेको पुल निर्माण विसं ०६८ बाट सुरु भएको हो। पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने सपना अझै पुरा भएको छैन।
पुल साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी बिरुवा लामासाल्पा शेर्पा कम्पनीले ठेक्का लिएको थियो। तर नौ वर्ष बित्दासमेत पुल बन्न सकेको छैन। चार स्पान र पाँच पिलर भएको पुलको नौ वर्षमा एउटा स्पान र चार पिलर मात्र निर्माण भएको छ।
निर्माण सुरु भएको लामो समयसम्म पनि पुल नबन्दा त्यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या भइरहेको भजनी नगरपालिका ३ का सीताराम चौधरी बताउँछन्।
‘पुल नभएका कारण यहाँका नागरिकलाई नदी तर्न निकै समस्या छ। सबैलाई अप्ठ्यारो छ। नदी तर्न डुङ्गा तर्नुपर्ने समस्या छ’, सीताराम भन्छन्, ‘बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या छ। कहिलेकाहीँ राति पनि हिँड्नुपर्ने हुन्छ। राति कसरी डुङ्गा चढ्नु ? पुल नहुँदा निकै दुःख पाइयो।’
भजनी नगरपालिकाको वडा नं ५ र ७ का स्थानीयवासीलाई नगरपालिकामा आउन त्यो नदी तर्नैपर्ने हुन्छ। नदी तर्न निकै समस्या हुने गरेको वडा नं ७ का श्यामलाल थारू बताउँछन्।
लामो समयसम्म पुल नबन्दा भजनीको मात्र नभई हुलाकी राजमार्गको पनि गति कम भएको छ। राजमार्ग सञ्चालनमा समस्या भएको छ। यसरी पटक–पटक थपिएको म्यादमा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनुपर्ने स्थानीय जयबहादुर बुढाको माग छ।
‘समयमै निर्माण सक्नुपर्ने हो, नौ वर्षसम्म पुल निर्माणका नाममा फाइदा लिने निर्माण व्यवसायीलाई सरकारले कारवाही गर्नुपर्छ’, उनी भन्छन्।
बिरुवा लामा साल्पा शेर्पा कम्पनीले आफ्नोतर्फबाट कुनै लापरवाही नभएको प्रतिक्रिया दिएको छ। सुरुमा डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको र पछि साझेदारले काम नगर्दा ढिलाइ भए पनि अहिले काम जारी रहेको निर्माण कम्पनीले जनाएको छ।
कोराना महामारीका कारण केही समस्या आए पनि यस आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न हुने कम्पनीका साइड प्रतिनिधि नगेन्द्र रावत बताउँछन्।
हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका अनुसार चार करोड ४२ लाख लागतमा पुल निर्माणको म्याद थप गर्दै २०७७ माघसम्म पुर्याइएको छ।