काठमाडौं- नेपाली कांग्रेसले नेपालगञ्जबाट पक्राउ परेका डिल्लीबहादुर चन्दको रिहाईको माग गरेको छ।
नेकपा नेता महेश बस्नेत र नेपाल प्रहरीको पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्ध स्टाटस लेखेको भन्दै कांग्रेसका स्थानीय कार्यकर्ता चन्दलाई प्रहरीले पक्राउ गरेको थियो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै उनको रिहाईको माग गरेका छन्।
‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्,’ उनले भनेका छन्, ‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि व्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारबाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै व्यवस्था छ। तर त्यो कानूनी प्रक्रियाभन्दा विपरित गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरीसमेतको दुरुपयोग गरिएको उदाहरण हो।’
शर्माले पूर्व प्रहरीसमेत रहेका चन्द स्थानीय एक निजी क्षेत्रको कार्यालयमा सुरक्षा गार्डका रूपमा काम गरेर परिवार पालिरहेको बताउँदै सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बाँचेको नागरिकमाथि देखाउन खोजेको तुजुक निन्दनीय भएको बताएका छन्। ‘कांग्रेस नागरिकप्रतिको यो व्यवहार सच्याउन चेतावनी दिँदै चन्दलाई तत्काल रिहाई गर्न माग गर्दछ,’ उनले भनेका छन्।