काठमाडौं– प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको छ।
विक्रम संवत ०३३ साल १६ पुसमा आठ वर्षे निर्वासनपछि कांग्रेसका संस्थापक नेता वीपी कोइरालासहितका नेताहरु स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने गरिन्छ।
दिवसका अवसरमा आज कांग्रेसले देशका ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम गर्न लागेको छ। मेलमिलाप दिवसमा सहभागी हुन कतिपय केन्द्रीय नेता जिल्ला दौडाहामा छन्।
मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमार्फत अहिले नौ बजे हुने ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक कार्यक्रममा सभापति शेरबहादुर देउवा र नेता प्रदीप गिरिले विचार व्यक्त गर्ने भएका छन्।
आठ वर्षको भारत प्रवासपछि कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गरेर निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल हालिएको थियो ।
जेल जीवनपछि ०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए। तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्राउ गरेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई जोगाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्केका नेता वीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति र राजशक्ति मिल्नुपर्ने धारणा राखेका थिए ।
नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्केका नेता वीपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगेर फेरि बन्दी बनाइएको थियो
कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो।