काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा शीर्षस्थानको एथ्लेटिको मड्रिडले जित निकालेको छ।
एथ्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम गेटाफेविरुद्ध १–० गोलको साँघुरो जित निकालेको हो।
जितका लागि लुईस स्वारेजले खेलको २० औं मिनेटमा गोल गरे। फेर्रिरा कारास्कोको पासमा पहिलो हाफमा बनाएको अग्रता नै खेलको निर्णायक गोल बन्यो।
एक गोलको जितसहित एथ्लेटिको मड्रिडले २०२० को आधा सिजन सानदार रुपमा अन्त्य गरेको छ। ऊ १४ खेलबाटै ३५ अंक बनाएर अंकतालिकाको शीर्षस्थानमा छ भने पराजित गेटाफे १७ अंकका साथ १४ औं स्थानमा छ।
बुधबार रातिकै अर्को खेलमा रियल मड्रिडले एल्चेसँगै १–१ गोलको बराबरी खेलेको छ। एल्चेको मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा ऊ बराबरीमा रोकिएको हो।
खेलको २० औं मिनेटमा १० नम्बरे मिडफिल्डर लुका मोड्रिचले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। यसका साथै पहिलो हाफमा रियल एक गोलले अघि रह्यो।
तर खेलको ५१ औं मिनेटमा कार्भान्जलले अट्याकको क्रममा एन्चेका बारागनको सर्ट तानेपछि घरेलु टिमले पेनाल्टीको अवसार पाएको थियो। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै एन्चेका फिडेल चावेसले खेललाई बराबरीमा ल्याए।
१–१ गोलको बराबरी नै खेलको अन्तिम नतिजा बन्यो। बराबरीका बाबजुद रियल अंकतालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानको एथ्लेटिकोभन्दा दुई खेल धेरै खेलेको रियलको ३३ अंक छ।
यता एल्चे १५ औं स्थानमा छ।