सप्तरी- पछिल्लो समय बालअधिकार हननको घटना बढ्दै गएकोमा सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका बेला पुनः एक बालिका यौन दुर्व्यवहारमा परेकी छन्।
इन्सेक सप्तरीले गत सोमबार सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनमा अभिलेखित १३० मध्ये बालअधिकार हननको घटना मात्रै ५० वटा घटना भएको सार्वजनिक गरेको थियो।
सन् २०२० अन्त्य हुनु अगावै कञ्चनरुप १२ का ३२ वर्षीय दिनेश विश्वकर्माविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले बालयौन दुर्व्यवहारको उजूरी दर्ता गरेको छ।
आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताएपछि उनकी आमाले दिएको उजूरी प्रहरीले दर्ता गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए।
पीडितकी आमाले आरोपितलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गर्न माग गरेकी छन्। घटनापछि फरार आरोपितको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ।
यसैबीच धरौटी राख्न नसकेर बालयौन दुर्व्यवहारका एक आरोपि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेका छन्। जिल्ला अदालतको मंगलबारको इजलासले आरोपित सुरुङ्गा नगरपालिका ८ का २८ वर्षीय गुदर रामलाई तीन लाख धरौटी राखे पुर्पक्षका लागि तारेखमा रिहा गर्ने आदेश गरेको अदालतले जनाएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी द्विवेदीका अनुसार धरौटी राख्न नसकेपछि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन्।
आरोपितमाथि १३ वर्षीया बालिकालाई गत वर्ष पुस २६ गते यौन दुर्व्यवहार गरेको आरोप छ। विद्यालयबाट फर्किने क्रममा बाटामा एक्लै देखी आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताए।
इलाका प्रहरी कार्यालय कल्याणपुर र जिल्ला प्रहरी कार्यालयले उजूरी दर्ता नगरेको जनाउँदै पीडितकी हजुरआमाले दिएको रिट निवेदनमा उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला प्रहरी कार्यालयका नाममा परमादेश गरेको थियो। परमादेशपछि जिल्ला प्रहरी कार्यालयले गत कात्तिक २७ गते उजूरी दर्ता गरी मङ्सिर २५ गते आरोपितलाई पक्राउ गरेको थियो।