काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न सम्बन्धित बैंकलाई पत्राचार गरेको छ। पार्टी विभाजनमा गएपछि उक्त समूहले बैंक खाता रोक्का गर्न खोजेको हो।
पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले स्थायी कमिटी बैठकबाट खाता रोक्का गर्ने निर्णय भएको जानकारी दिए। ‘हाम्रो पार्टीभित्र उत्पन्न विशिष्ट परिस्थितिका कारण त्यस बैंकमा हाम्रो पार्टीको नाममा वा साविक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को नाममा रहेको खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिदिनुहुन अनुरोध छ,’ नेकपाले बैंकलाई पठाएको पत्रमा उल्लेख छ।
नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएपछि दुवै पार्टीको सम्पत्ति एउटै बनाउने प्रक्रिया अघि बढेको थियो।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित भएको हो।