काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले देश विकासको डुंगा अगाडि बढिसकेको बताएका छन्।
नेकपा ओली समूहले बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गतिशिलताको डुंगा अगाडि बढिसकेको भन्दै त्यसमा कोही छुटे पनि केही गर्न नसकिने बताए।
नेकपाको दाहाल–नेपाल समूहलाई लक्षित गर्दै ओलीले भने, ‘डुंगा अगाडि बढ्न नदिने, पछाडि तानिराख्ने काम भइरह्यो। अब उहाँ थाक्नुभयो, डुंगा छाडिदिनुभो, हामी अगाडि बढ्यौं।’
पुष्पकमल दाहाल मान–अपमानको कुरामा अल्झिएको भन्दै ओलीले भने, ‘मान गरेनन्, अपमान गरे भन्नेमा ध्यान छ। त्यति सानो कुरामा ध्यान छ, देश विकासमा केको ध्यान हुन्थ्यो !’
हिजो मंगलबार प्रदर्शनीमार्गमा आयोजित सभामा दाहालले ओलीले आफूलाई गरेको अपमानको फेहरिस्त सुनाएका थिए।