काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन्।
उनले संसद विघटनविरुद्धको रिट सर्वोच्चमा विचाराधिन रहे पनि सरकार निर्वानको तयारीमा जुटिसकेको र तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने दाबी गरेका हुन्।
आज (बुधबार) रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले संविधानतः निर्वाचनको घोषणा गरिसक्नुभएको छ, वैशाख १७ र वैशाख २७ गते गरी दुई चरणमा निर्वाचन हुन्छ। निर्वाचन आयोग तयारीमा जुटिसकेको छ। सरकार पूर्ण रुपमा निर्वाचनको लागि तयारीमा छ।’
उनले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले ‘मैले सरकार चलाउन सकिनँ, म निर्वाचनमा जान्छु भन्न नपाउने ?’ भन्दै प्रश्न गरे। भट्टराईले थपे, ‘सिटिङ प्राईममिनिस्टरले निर्वाचनमा जान्छु भन्न किन नपाउने ? पहिलो यो बहुमत प्राप्त सरकार हो। संसदभित्र विकल्प छैन। निर्वाचन हुँदैन कि भन्ने विषयमा हामी अन्यौलत रहनु हुँदैन। तर, अन्तरिम आदेश आएको छैन। अब निर्वाचनको वातावरण बनाएर जाने कुरा नै हो।’
भट्टराईले कांग्रेसलेसमेत निर्वाचनको तयारी गरिसकेको बताए। उनले भने, ‘अन्य पार्टीका धारणा आउने क्रम जारी छ। निर्वाचनको विकल्प अब छैन। ढिलो चाँडो निर्वाचनमा नै जाने हो। कांग्रेसले अलिक चाँडो बुझ्यो। किनकी उसले देशव्यापी रुपमा एक दिने कार्यक्रम गर्यो, त्यो पनि १६५ निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्यो। उसले त्यसलाई पनि निर्वाचनको तयारीको रुपमा प्रयोग गरेको हाम्रो बुझाई छ।’
उनले संसद विघटन गरेर निर्वाचनमा जाने घोषणाको विरोधमा सडक आन्दोलन भैरहेको विषयमा आन्दोलन गर्ने उनीहरुको अधिकारको कुरा भएको टिप्पणी गरे। उनले भने, ‘निर्वाचनको बारेमा आशंका पालिरहनुहुँदैन्। बरु, समय छोटो छ। तयारी पूरा गरेर जानुपर्छ। बेलायतमा एक महिनाअघि चुनाव घोषणा हुन्छ, अनि चुनाव हुन्छ। चुनावको लागि बढि समय खर्च गर्ने काम राम्रो होइन।’
नेपालमा पछिल्लो समय विकसित राजनीतिक घट्नाक्रमबारे छिमेकी मुलुकहरुको चासो हुनु स्वभाविक भएको पनि उनको धारणा छ। चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणबारे विभिन्न चासो व्यक्त भएको भन्दै उनले यो सामान्य भएको र नेपालले आफ्नो निर्णय आफै गर्ने दाबी गरे।
भट्टराईले नेपालको सबैसित राम्रो सम्बन्ध रहेको र सबैसँग सुमधुर सम्बन्ध राख्न चाहेका पनि उल्लेख गरे। उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीसँग पनि राम्रो सम्बन्ध राख्न चाहन्छु। भारतीयहरुसँग पनि राम्रो सम्बन्ध चाहन्छौं। जापानिज, कोरियन, अमेरिकन, बंगलादेशी, श्रीलंकन सबैसित हामी राम्रो सम्बन्ध राख्न चाहन्छौं। त्यो सम्बन्ध हाम्रो एउटा पाटो हो।
आन्तरिक मामिलामा निर्णय लिँदा हामी स्वतन्त्रपूर्वक लिन्छौं। उहाँहरु आउनुभयो। बुझ्नुभयो, अनि जानुभयो। यसलाई अरु हिसाबले बुझ्न आवश्यकता छैन।’