पोखरा- जलवायु र वातावरणविद्हरुले माछापुच्छ्रेबाट हिमनदी लोप भएकोमा चिन्ता व्यक्त गरेका छन्।
हिमाललाई पृष्ठभूमिमा राखेर गरिएको कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरका रुपमा वक्ताहरूले माछापुच्छ्रेलाई प्रस्तुत गरेका हुन्।
आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करणअन्तर्गत पोखरामा आयोजित कार्यक्रममा जलवायु परिवर्तनले पारेको असर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यस विषयसँग जोडिएका समस्या समाधानका लागि भइरहेका पहल, नीतिगत एवं संरचनागत प्रयासबारे कुराकानी भएको थियो।
वक्ता अरनिको पाण्डेले हिउँविहीन बनेको उक्त हिमालमा कार्बोन डाइअक्साइड र ब्ल्याक कार्बोनले असर पारेको बताए।
‘कार्बनडाइअक्साइडले हिउँ पगाल्छ। साथै दक्षिण एसियामा धेरै उत्पादन हुने ब्ल्याक कार्बनको पनि यसमा भूमिका छ’, उनले भने, ‘विशेषगरी दाउरा बाल्दा, इँटाभट्टा सञ्चालन गर्दा र सवारी साधनबाट निस्कने कालो धूवाँ हुन्, जसले जलवायुमा असर पार्छ।’
उनले ब्ल्याक कार्बनले हावा तताउने र हिउँ पगाल्ने काम गर्ने जानकारी दिए। ती कार्बन २/४ दिनदेखि २/४ सातासम्म मात्र रहन्छ।
जलवायु परिवर्तन एक दिनको तापक्रमसँग सम्बन्धित विषय नभई दशकौंदेखिको प्रक्रिया भएको उनको भनाइ छ।
उनका अनुसार उत्पादित कार्बनडाइअक्साइड सयौं वर्ष वायुमण्डलमा जम्मा भएर बस्छ। र, पृथ्वीका लागि खप्टिएको सिरक जस्तो बन्छ। त्यसले पृथ्वीको तापक्रम बढाउँदै लगेको छ।
पाण्डे वायुमण्डलीय विज्ञानका अध्येता हुन्। ४०/४५ वर्षअघि माछापुच्छ्रेबाट हिमनदी बग्ने गरेको र हाल ती नदी बाँकी नरहेको उनले सुनाए।
‘नेपालका अन्य हिमाली भेगतिर पनि कति खेर हिउँ पग्लन्छ। नदी र ताल बढ्छन्। बाढी आउँछ निश्चित छैन,’ उनले भने, ‘यहाँ हिउँ मात्र पग्लने हुँदैन, त्यसले खेतीकिसानीमा, खाने पानीमा, वर्षामा असर पुग्छ।’
जलवायु परिवर्तनले एन्टार्कटिका र आर्टिक महाद्वीपतिर पनि बरफ पगालेर समुद्रको सतह बढाएको उनले सुनाए।
तापक्रममा एक डिग्री मात्रको फरकले जाडो दिन घटाउने वा बढाउनेदेखि लामखुट्टे बढ्नेसम्म फरक पार्ने उनको तर्क रह्यो।
जलवायु परिवर्तन र यसले पारेको असरबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा छलफल हुँदै आएको बताउँछन् डा. महेश्वर ढकाल।
उनका अनुसार सृजित समस्या न्यूनीकरणका लागि पहल भइरहेको छ। सन् १९९० को दशकमा भएको रियो सम्मेलनलगत्तै यो अन्तर्राष्ट्रिय मुद्दाका रूपमा चर्चा भइरहेको छ, जलवायु परिवर्तनको मुद्दा।
कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूका कारण विकास उन्मुख देशहरूलाई कसरी प्रभाव परेको छ र, विकसित देशहरूले कसरी विकास भइरहेका देशलाई जलवायु परिवर्तनसँग जोडिएका समस्या समाधानका लागि सहयोग पुर्याउन सक्छन् भन्ने विषयमा बहस हुने गरेका छन्।
‘नेपाल जस्तो देश मारमा छ। भर्खर विकासतर्फ उन्मुख हामीले केही हदमा कार्बन उत्पादन गर्छौं। यस्तोमा हामीलाई विकसित देशहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि सहयोग पुर्याउनुपर्छ। त्यसका लागि आवश्यक फोरम बनेका छन्,‘ ढकालले भने।
उनका अनुसार नेपाल जलवायु परिवर्तन र त्यसको प्रभाव न्यूनीकरणका लागि सन् २०१० देखि सक्रिय छ। नीतिगत र संरचनागत हिसाबमा पनि केही काम भएका छन्। तर देश संघीयतामा गएपछि नीति कार्यान्वयनका कसरी गर्ने भन्ने विषयमा चाहिँ प्रस्ट नभएको बताए।
वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्यले भने जलवायु परिवर्तनलाई अन्तर्राष्ट्रिय मुद्दाका रूपमा मात्र हेरिनुलई समस्याका रूपमा व्याख्या गरिन्।
समस्या समाधानका लागि सरकार र आम मानिस सँगसँगै रहनुपर्ने उनको बुझाइ छ।
‘समयमा पानी नपर्दा, प्राकृतिक प्रकोपका कारण आममानिस पीडित छन्। जहाँका मानिसले प्रत्यक्ष दुःख भोगिरहेका छन्, त्यहाँबाट परिवर्तन र पहल सुरु गरिनुपर्छ। त्यसमा राज्यको एवम् शक्तिमा भएकाहरूको सहयोग चाहिन्छ,’ उनले भनिन्।
आफूहरूले नेपालमा ‘पोलिथिन ब्याग’ प्रतिबन्ध गर्ने अभियानका समय भोग्नुपरेको अप्ठ्याराहरूबारे बताइन्।
उनीहरूले झोलामा प्रतिबन्ध लगाउन खोज्दा बजारले झोला उत्पादकको दोष देखाउने, उत्पादक नीतिगत स्पष्टता खोज्ने र सरकार आम मानिसको चेतनामा प्रश्न गरेको उनले बताइन्। ती अप्ठ्याराहरूले शक्तिमा रहेका र आम मानिसबिचको मतभेद प्रस्ट पार्याे।
त्यस्तै हाल नेपालका स्थानीय तहमा हुने गरेका योजनाबिनाका विकास कार्यले पनि जलवायु परिवर्तनमा भूमिका खेलेको उनको तर्क छ।
‘हरेक जनप्रतिनिधि वा उनीहरूको आफन्तसँग डोजर छ। डोजरलाई वर्षभर काम दिन पनि भीर खनेर सडक बनाउने काम तीव्र छ,’ उनले भनिन्, ‘जङ्गल नासिएका छन्। एउटै ठाउँमा पुग्न दुईतीन वटा बाटो बनाइएका छन्, जुन दीर्घकालीन हुँदैनन्। एउटै वर्षापछि भत्किन्छ।’
मानिसको दैनिकीलाई प्रकृति सन्तुलित बनाउनुपर्नेमा उनले जोड दिइन्।
ढकालले भने छिमेकी राष्ट्रहरू भारत र चीनको जनसङ्ख्या, विकास र उत्पादक कार्यले पनि नेपाललाई असर पारिरहेको तर्क अघि सारे।
‘ती कार्यले हिमाल पग्लनेदेखि जैविक विविधतामा त असर पारेको छ, वैदेशिक सम्बन्ध आर्थिक र सामाजिकसँगै वातावरणसँग पनि जोडिएको विषय हो,’ उनले भने।
पाण्डेले जलवायु परिवर्तनका विषयलाई शिक्षा र साहित्यसँग जोड्नुपर्ने कुरा राखे।
आँखाले नदेख्ने विषयहरूलाई साहित्य बनाउन गाह्रो भए पनि चेतनामूलक गैरआख्यान बनाउन सकिने उनको भनाइ छ।
त्यस्तै महेश्वर ढकालले नेपाली भाषामा जलवायु परिवर्तनबारे विषय पाठ्यक्रममा समेट्नुपर्ने साथै अनौपचारिक पाठ्यसामग्रीसमेत प्रकाशन गर्नुपर्ने बताए।
उनले भने, ‘मिडियाले पनि सायद यी विषय समेट्नुपर्छ। राजनीतिक विषय मात्र प्रकाश पार्दा वातावरण र जलवायु परिवर्तनका कुरा छायामा परेका छन्।’
छलफलको सहजीकरण रमेश भुसालले गरेका थिए।