सुर्खेत– सुर्खेत विमानस्थल विस्तारको काम तत्कालका लागि रोकिएको छ। विमानस्थल विस्तारका लागि लगत संकलन थालेको तीन दिनमै काम स्थगन गरिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ।
‘स्थानीयले विरोधध जनाएपछि लगत संकलनको काम रोकेका छौँ,’ नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले भने, ‘पहिले आयोजना प्रभावितसँग वार्ता गर्छौं, अनिमात्र लगत संकलन हुन्छ।’ प्रभावित क्षेत्रका स्थानीयले कुनै पनि हालतमा काम अघि बढ्न नदिने चेतावनी दिएपछि लगत संकलन स्थगित गर्नुपरेको पन्थीले जनाए।
‘स्थानीयले भेटेरै तत्काललाई काम रोक्न अनुरोध गर्नुभएको छ,’ उनले भने, ‘अब उहाँहरु (प्रभावित) सँग वार्ता नभएसम्म लगत संकलन गर्न सक्ने अवस्था छैन ।’ अप्रिय घटना हुन नदिने र सहमतिको वातावरण तयार गर्नका लागि स्थानीयसँग वार्ता गर्ने तयारी भइरहेको पन्थीले जनाए।
वार्ताका लागि कर्णाली प्रदेश सरकार, अन्य सरोकार समिति, वीरेन्द्रनगर नगरपालिका र जिल्ला प्रशासनबीच समन्वय थालिएको छ। विमानस्थल विस्तार गर्दा एउटा क्याम्पस, दुई वटा सामुदायिक विद्यालय, तीन वटा निजी विद्यालय, एउटा स्वास्थ्य चौकीलगायत करिब पाँच सय घरपरिवार प्रभावित हुनेछन्।
हाल एक हजार २५५ मिटर धावनमार्ग भएको विमानस्थल विस्तार गरेर धावनमार्ग एक हजार ५५५ मिटर बनाउन लागिएको हो।
विमानस्थल विस्तार गर्दा ३० विघाह क्षेत्रफल अधिग्रहण गर्नुपर्ने छ। जग्गा अधिग्रहणका लागि संघीय सरकारले अनुमति दिइसकेको छ। विमानस्थल विस्तार गर्दा उत्तरतर्फ ६ सय मिटर, दक्षिणतर्फ चार सय मिटर, पूर्वतर्फ २५ मिटर र पश्चिमतर्फ दुई सय मिटर क्षेत्रफल अधिग्रहणमा पर्ने छ।