काठमाडौं– राहदानी विभागले नयाँ राहदानी बनाउन नेपाली नागरिकलाई सम्बन्धित जिल्लाको सिफारिस अनिवार्य गरेको छ।
कोभिड–१९ महामारीका कारण केन्द्रबाट राहदानी बनाउन सम्बन्धित जिल्लाको सिफारिस अनिवार्य गरेको थिएन। अहिले अवस्था सामान्य बन्दै गएको र सेवाग्राहीको भीड बढेकाले सिफारिस अनिवार्य गरिएको विभागका निर्देशक राजेन्द्र पाण्डेले जानकारी दिए।
उनले भने, ‘हामीले कोभिडको संक्रमणकालिन अवस्थालाई ध्यानमा राख्दै नागरिकता र फोटोका आधारमा राहदानी वितरण गरेका थियौँ। अब पहिलेको सामान्य अवस्थामा जस्तै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले रितपूर्वक जारी गरेको आवेदकको फोटोसहितको सिफारिसपत्र भएकाले मात्र राहदानीका लागि आवेदन दिन पाउँछन्।’
नेपाली नागरिकले राहदानी विभागबाट एकै दिनमा १५ हजार राजस्व तिरेर राहदानी लिन सक्छन् भने सम्बन्धित जिल्लाबाट राहदानी लिन ५ हजार राजस्व तिरेर केही दिन पर्खनु पर्छ।