सोमबार, वैशाख ८, २०८२

नेपालमा पनि स्वरुप परिवर्तन हुँदैछ कोरोनाको ?

बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारको भाइरसले विश्वभर चासो र चिन्ता बढाएको छ।
 |  बुधबार, पुस १५, २०७७
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, पुस १५, २०७७

vianetvianet

काठमाडौं– बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारको भाइरसले विश्वभर चासो र चिन्ता बढाएको छ। कोभिड–१९ नियन्त्रण नहुँदै देखिएको नयाँ भाइरसबारे वैज्ञानिकहरुले खोज तथा अनुसन्धान गर्न थालेका छन्।

triton college

सुरुमा बेलायतमा देखिएको यो भाइरस अन्य देशहरुमा पनि देखिन थालेको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को एक अध्ययनअनुसार भाइरसको संरचनामा परिवर्तन भएसँगै यो नयाँ प्रकारको कोरोना भाइरस छिटो फैलिने देखिएको छ।

कोरोना भाइरसभन्दा तीव्र रुपमा फैलिएपछि बेलायत, वेल्स, इंग्ल्यान्ड लगायतमा लकडाउन गरिएको छ। डेनमार्क, अस्ट्रेलिया, भारतलगायत देशमा पनि नयाँ भाइरस पत्ता लागेको पुष्टि भइसकेको छ।

सीडीसीका अनुसार यो भाइरसले सिकिस्त बिरामी बनाउने वा मृत्युको जोखिम बढाउने वा नबढाउने भन्नेमा अझै तथ्य फेला परेको छैन। यो भाइरस निकै छिटो शरीरमा फैलने अवस्थामा रहेको देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसभन्दा ७० प्रतिशत तीव्र गतिमा फैलिन्छ यो भाइरस। तर, घातक कति छ भन्ने अध्ययनकै क्रममा छ।

बेलायती वैज्ञानिकहरुको एक अध्ययनले नयाँ भेरिएन्ट पहिलेको तुलनामा कम खतरनाक रहेको निष्कर्ष निकालेको छ। बीबीसीका अनुसार पब्लिक हेल्थ इंग्ल्यान्डले यो अध्ययन गराएको थियो। वैज्ञानिकहरुका अनुसार नयाँ भेरिएन्ट तीव्र गतिमा फैलिन्छ तर कम घातक छ। 

National life insurance

‘नेपालमा पनि नयाँ प्रकारको भाइरस भित्रिन नसक्ला भन्न सकिँदैन,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन भन्छन्, ‘बेलायतमा सेप्टेम्बरदेखि देखिएको भनिएको भाइरस यतिबेलासम्म नेपालमा आयो वा आएन भन्ने चासो सबैलाई छ। किनकी यो भाइरस छिर्नेबित्तिकै आजको भोलि नै देखिँदैन। दुई महिना अवधिमा बल्ल बेलायतमा धेरैलाई संक्रमित पार्दैछ भनेर थाहा हुँदैछ।’

भारतमा यो भाइरस देखिइसकेको अवस्थामा नेपाल अछूतो रहन नसक्ने पुन बताउँछन्। ‘नेपालमा विमानस्थल खोलिसकिएको छ। यस्तो अवस्थामा लापरवाही गरियो भने अप्ठ्यारो स्थिति आउन सक्छ। अहिले देखिएको कोरोना भाइरसको प्रजातिभन्दा द्रुत गतिमा फैलिन सक्ने क्षमता भएकाले यो नेपालको लागि चिन्ताको विषय हो,’ पुन भन्छन्। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका अनुसार नयाँ देखिएको भाइरस सुरुमा देखिएको भन्दा फरक हो। अर्थात् भाइरस म्युटेड (उत्परिवर्तन) भएको हो। बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस ७० प्रतिशतभन्दा बढी द्रुत गतिमा सर्नेे अनुसन्धानबाट देखिएको छ। छोटो समयमा धेरैभन्दा धेरै मानिस संक्रमित हुन सक्छन्। बेलायतमा सेप्टेम्बरमा सुरु भएको देखिन्छ।

पछिल्लो समय संक्रमितमध्ये दुई तिहाइ नयाँ प्रकारको भाइरसबाट संक्रमित भएको भनिएको छ। तीव्र गतिमा फैलिएकाले बेलायतका लागि मात्र होइन, सबै देशका लागि चुनौती र चिन्ताको विषय हो। डा. गुप्ताका अनुसार नयाँ भाइरस पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। 

प्रयोगशालाका सूचना अधिकारी गुप्ताका अुनसार नेपालमा पनि भाइरसले कस्तो संरचना परिवर्तन गर्दैछ भन्ने अध्ययन गरिनुपर्छ। ‘पीसीआरबाट थाहा पाइँदैन। यसले कुन खोप सुहाउँदो हुन्छ भन्ने निर्क्योल गर्न सकिन्छ। अहिलेको म्युटेसन हेर्दा अझैसम्म सार्न सक्ने प्रतिशत बढाइदिएको छ। तर, यसले पहिलेको स्ट्रेनभन्दा धेरै मृत्युदर बढाउने र घातक गर्ने अहिलेसम्म थाहा भएको छैन। सजिलैसँग फैलिन सक्ने भएको हुनाले सतर्क भने रहनुपर्ने हुन्छ।’ 

बेलायतमा मात्र होइन, नेपालमै पनि भाइरसको म्युटेसन भइरहेको हुन सक्ने भएकाले त्यसको अध्ययन जरुरी रहेको गुप्ता बताउँछन्। उनका  अनुसार बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमा भएको भाइरस नयाँ हो वा पुरानो भन्ने पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्नुपर्छ। त्यसको लागि नमुना हङकङ पठाउने तयारी भएको छ। ‘भाइरस परिवर्तन भइरहन्छ। नेपालमा पनि संक्रमण देखिएको एक वर्ष पुग्न लागिसकेको छ। यस्तो अवस्थामा नेपालकै भाइरसको स्थिति पनि के छ भनेर जिन सिक्वेन्सिङ गरेर हेर्नुपर्ने हुन्छ,’ गुप्ता भन्छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा. प्रदीप ज्ञवालीले नेपालमा पनि भाइरसको संरचना कस्तो परिवर्तन हुँदैछ भनेर अध्ययन भइरहेको बताएका छन्।

भाइरसको नयाँ भेरिएन्ट आएपछि भ्याक्सिनको प्रभावकारिताबारे पनि आशंका व्यक्त हुन थालेको छ। अमेरिका, क्यानाडा, बेलायतलगायत केही देशमा भ्याक्सिन लगाउन सुरु भइसकेको छ।

कैयौं भ्याक्सिन परीक्षणको चरणमा छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार अहिलेसम्म भाइरसको स्वरुपमा आएको परिवर्तनले भ्याक्सिनको प्रभावकारितामा खासै परिवर्तन देखाएको छैन।

प्रकाशित: Dec 30, 2020| 06:40 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्