काठमाडौं– सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ मनाइने गरिन्छ।
हरेक वर्ष पुस १५ गते मनाइने पुसे १५ मा मिठा तरुल, सखरखण्ड, निसौसे रोटीलगायत मिठा परिकार खाने, रातभर जाग्राम बस्ने बात हाल्ने (दन्त्य कथा) भन्ने र देउडा खेल्ने गरिन्छ।
आजको रात सबैभन्दा लामो मानिन्छ। यस दिन डोटेली संस्कृति अनुसार आजको दिन १५ प्रकारका परिकार खाएर सुदूरपश्चिमबासीले पुसे १५ मनाउने गर्छन। यो पर्वलाई ‘पन्नरी रात’ पनि भन्ने गरिन्छ।
आजको रात टोल छिमेकका भेला भएर मुढाको आगो बालेर ताप्ने, जाग्राम बस्ने, चामलको पिठोबाट बनेको ढुकढुके (निसौसे) रोटी, तरुल, पिडालु, सखरखण्डलगायत खाने र दन्त्य कथा भन्ने सुन्ने गरिन्छ।
पर्व मनाउन एक ठाउँमा भेला हुनेहरूले १५ हात लामो (झन्डै २० फिट) मूढोको आगो ताप्नुपर्ने र एक–अपसमा हाँसो—ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ।
पर्वको तयारी स्वरुप हरेक घरका गृहणी आज खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन्। पर्वमा विवाहिता छोरीवेटीलाई घरमा आमन्त्रण गरी स्वागत एवम् सत्कार गर्ने गरिन्छ। विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको छ।
तर आधुनिक प्रविधिको विकास, आधुनिकतातिर ढल्कँदै गएको समाज र व्यस्त समयका कारण यो प्रचलन पातलिँदै गएको छ।