काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल)मा लगातार दोस्रो जित निकालेको आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले जित नै क्लबका लागि उत्कृष्ट औषधि भएको बताएका छन्।
लामो समयसम्मको हारले विक्षिप्त बनेको आर्सनलले मंगलबार राति सम्पन्न खेलमा लगातार दोस्रो जित निकालेपछि पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।
अलेक्जेन्डर लकाजेट्टको गोलको सहयोगमा गएराति आर्सनलले ब्राइटोनमाथि १–० साँगुरो जित निकालेको हो।
६६ औं मिनेटमा उनले बुकायो साकाको पासमा गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बरबरीमा रोकिएको थियो।
दोस्रो हाफको निर्णायक गोलसँगै तीन अंक जोडेको आर्सनल अंकतालिकाको १३ औं स्थानमा उक्लिएको छ।
रेलिगेसन जोनमा घेरामा पुगेको आर्सनलले पछिल्लो खेलमा चेल्सीलाई हराउँदै आफ्नो बचाउ गरेको थियो भने ब्राइटोनलाई हराउँदै जितको लयमा फर्किनले कसरत गरेको छ।
उसले जारी सिजनमा आठ हार बेहोरिसकेको छ भने ६ जित र दुई बराबरी खेलेको छ। यता पराजित ब्राइटोनभने १३ अंकका साथ १७ औं स्थानमा छ।