विराटनगर– प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेकपा (दाहाल–नेपाल) समूहले मंगलबार विराटनगरमा प्रदर्शन गरेको छ।
वीरेन्द्र सभागृहबाट सुरु भएको जुलुस नगर परिक्रमा गरी जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा नेकपाका प्रदेश १ का इन्चार्ज एवं स्थायी कमिटी सदस्य भीम आचार्यले प्रतिनिधिसभा विघटनले लोकतन्त्र कमजोर भई मुलुकको समृद्धि कायममा अवरोध सिर्जना भएको बताए।
उनले लोकतन्त्र र गणतन्त्रको स्थायित्वका लागि संसद् पुनर्स्थापना हुनुपर्नेमा जोड दिए।
आचार्यले भने, ‘विधि, विधान, कानुनअनुसार सञ्चालन भएको पार्टीको निर्णय सबैले मान्नुपर्छ।’
नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश १ का निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरेले संविधानमा संसद् विघटनको अधिकार कसैलाई नभएको चर्चा गरे।
प्रतिनिधिसभा विघटनबाट जनता चिन्तित भएको उनले बताए। संविधानसभा सदस्य अमनलाल मोदीले सर्वाेच्च अदालत र निर्वाचन आयोगले संविधान विपरीतका निर्णय गरेमा मान्य नहुने बताए।
विरोध सभामा नेकपा केन्द्रीय सदस्यहरु शिवकुमार मण्डल, महेश रेग्मी, गोपी अछामी, नेताहरु भोगेन्द्र यादव, गणेश उप्रेती लगायतले संसद् विघटन स्वीकार्य नभएकाले सडकमा आउनुपरेको बताए। उनीहरुले संसद् पुनर्स्थापनाका लागि निरन्तर खबरदारी गरिरहने बताए।