नेपालमा कोरोना संक्रमणको दर अहिले घटिरहेको छ। दोस्रो वेभ आउने अनुमान गरिएको पनि छ। हामी अन्य देशभन्दा फरक धारमा छौं। अन्य देशमा महामारी सुरु हुँदा लकडाउन भयो अनि खोलियो। दोस्रो चरणको समयमा जाडोको समय भयो, भाइरसको प्रकृति परिवर्तन भयो।
नेपालमा भने संक्रमण हुनुअगावै लकडाउन भयो। तर पनि छिमेकी मुलुकबाट आएकालाई परीक्षण गर्दा संक्रमणको उच्च विन्दुमा पुग्यो। त्यतिबेलासम्म समुदायमा संक्रमण फैलिएको थिएन।
लकडाउन खोल्दै जाँदा संक्रमित व्यक्तिलाई क्वारेन्टिन तथा आइसोलेसन प्रभावकारी नहुँदा उनीहरु समुदायमा मिसिन पुगे। यसले गर्दा असोज, कात्तिकमा हामी उच्च अवस्थामा पुग्यौं। अहिले संक्रमणको दर घटेको छ। जसको कारण प्रभावकारी स्वास्थ्य व्यवस्थापन हो।
नेपालले पहिलो चरणमा धेरै उदाहरणीय काम गरेको छ। सरकारले बनाएको नीतिनियम कागजमा मात्रै सीमित छैनन्, कार्यान्वयन पनि भएका छन्। संघीयताका कारण फाइदा धेरै भयो। तर संघीय सरकारलाई स्वास्थ्यका टेक्निकल कुरा थाहा नहुँदा केही जटिलता पनि थपिएको छ।
अहिले आईसीयूमा आउने बिरामीको संख्या घटेको छ। यसबीचमा धेरै चुनौती पनि छन्। अबको दोस्रो वेभको चुनौती स्कुल खोल्ने बेलामा हुने देखिएको छ। अहिले क्लबहरु खुलेका छन्, जुलुस, प्रदर्शनहरु भइरहेका छन्। अहिलेसम्म बचेकाहरु अब अब जोखिममा देखिएका छन्। हामीले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको अवस्थामा दोस्रो वेभ नआउला भन्न सकिँदैन।
(पोखरामा जारी आइएमई नेपाल लिटरेचर फेस्टिभलमा सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले राखेको धारणाको सम्पादित अंश)